काठमाडौं, कोरोना महामारीले केही समयअघिसम्म ठप्प रहेको कर्जा कारोबार पछिल्लो समय बढेर घर कर्जामा समेत माग आउन थालेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले व्यक्तिगत र व्यावसायिक दुवै खाले कर्जा क्रमशः जान थालेको बताएका छन ।
अहिले घर बनाउने मौसम भएकाले पनि बैंकहरूबाट घर कर्जाको माग बढ्न थालेको बैंकरहरू बताउँछन् । अहिले बैंकहरूबीच प्रतिस्पर्धामा कर्जा प्रवाह भइरहेको छ । राष्ट्र बैंकले यस वर्षदेखि व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा स्थिर ब्याजदरको नीति लागू गरेपछि बैंकहरूले यसलाई अपनाएका छन् ।
पछिल्लो समय गत कात्तिकसम्म व्यक्तिगत तथा व्यावसायिक प्रकृतिका घर कर्जामा बैंक तथा वित्तीय संस्थाबाट ४ खर्ब २० अर्ब ९७ करोड ३८ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ, जुन कुल कर्जा प्रवाहको १३ दशमलव ८१ प्रतिशत हो ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट रु। ३० खर्ब ४८ अर्ब ३६ करोड २० लाख रुपैयाँ कुल कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार प्रवाह भएका घर कर्जामध्ये व्यक्तिगत साढे १ करोड रुपैयाँसम्मका व्यक्तिगत आवासीय घर कर्जा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको प्रवाह भएको छ ।
यसैगरी व्यावसायिक प्रयोजनका लागि रियल सेक्टर शीर्षकअन्तर्गत १ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह भएको छ ।
गत आव ०७३/७४ मा कुल घर कर्जा रु। साढे २ खर्ब रुपैयाँ बराबरको प्रवाह भएको थियो । यसैगरी आव ०७४/७५ मा रु। २ खर्ब ९३ अर्ब, आव ०७५र७६ मा रु। ३ खर्ब ४३ अर्ब, आव ०७६/७७ मा ३ खर्ब ८४ अर्ब र आव ०७७/७८ मा ४ खर्ब १६ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

प्रतिक्रिया