काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्ष उमेर हदको प्रस्ताव असहमतिबीच आइतबार मध्यरातमा अनुमोदन गर्न खोजेपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कड्किए ।
‘पार्टी तपार्इंले जसरी चलाउन खोज्नुभएको छ, त्यसरी नै चल्छ । मिलाएर लैजानुहुन्छ भने तपाईं पनि बलियो हुनुहुन्छ, तर बहुमतले पेल्नुहुन्छ भने तपाईंले उठाउनै नसक्ने गरी पार्टी ढल्छ,’ सिटौला भन्दै गए, ‘बहुमत र अल्पमतको खेलतिर नलाग्नुहोस् । जबर्जस्ती पेलेरै निर्णय लिने हो भने मेरो असहमति रहन्छ ।’
उनी यतिमै रोकिएनन् । संस्थापन पक्षीय सदस्यहरूले अर्को पक्षविरुद्ध बोल्दा सभापति देउवा मुसुमुसु हाँस्ने गरेकोप्रति सिटौलाले रोष पोखे, ‘तपाईंका मान्छेहरूले हामीलाई भित्रसम्म घोच्ने गरी छेडछाड गर्ने, अनि तपाईं सभापतिको आसनमा बसेर हाँस्ने ? यही हो सभापतिको भूमिका ?’ अाजकाे कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।
प्रतिक्रिया