काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका मुख्य सचिव, सचिवहरु र उच्चपदस्थ अधिकारीसंग परिचयात्मक कार्यक्रम गरेको छ । संघले बुधबार काठमाडौंमा यस्तो कार्यक्रम गरेको हो ।
बिशेषगरि महासंघका नवनिर्वाचित पदाधिकारी, समिति सभापतिहरु र नेपाल सरकारका उच्च पदाधिकारीहरु बीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको प्रारम्भमा महासंघका अध्यक्ष शेखर गोल्छाले उपस्थिति मुख्य सचिवसहित सचिवहरुको स्वागत गर्दै सरकार निजी क्षेत्र बीचको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ पार्दै लैजानुपर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले सो अवसरमा महासंघको नवनिर्वाचित टिमको परिचय पनि गराए ।
अध्यक्ष गोल्छाले भने, अब चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत घोषणा भएको साना तथा मझौला उद्यमी लक्षित पुर्नकर्जा प्रवाह पनि शुरु भएको छ । व्यवसाय निरन्तरता कर्जा पनि शुरु हुने क्रममा छ । यसले साना मझौला उद्यमीलाई राहत पुग्नेछ । तर पर्यटन लगायतका केहि अति प्रभावित क्षेत्रमा समस्या कम भएको छैन । त्यसैले अति प्रभावित क्षेत्रको श्रमिक व्यवस्थापन लगायतका क्षेत्रमा सरकारको सहकार्य खोजिरहेका छौ ।
सो अवसरमा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले निजी क्षेत्रको मुलुकभित्र उद्योग व्यवसायको विस्तार सहित आर्थिक विकासमा सहयोग गर्न सरकारको कर्मचारी प्रशासनबाट सदैव सहयोग र सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मुख्य सचिव वैरागीले मुलुकको व्यापार घाटा कम गर्नेतर्फ सरकार निजी क्षेत्र निरन्तर अगाडी बढेको र यसमा केही सफलता पनि प्राप्त भएको बताउंदै हाम्रा तुलनात्मक लाभका क्षेत्रहरु मार्फत व्यापार घाटा कम गर्ने तर्फ हाम्रो संंयुक्त प्रयास केन्द्रीत हुनुपर्ने धारणा राखे ।
के गर्दा वाह्य लगानी, आन्तरिक लगानी बढाउन सकिन्छ, पूंजी, शीप आकर्षण गर्न सकिन्छ र समग्रमा निजी क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ त्यसमा सरकार तपाई निजी क्षेत्रलाई सहयोग गर्न तयार छ, मुख्य सचिवले भने–मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिदैं महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रवद्र्धनबाट मात्र मुलुकको आर्थिक विकास हुने भएकाले निजी क्षेत्रले फस्टाउने बातावरण बनाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल सरकारका सचिवहरु, सहसचिवहरु, उपसचिवहरु, महासंघका पदाधिकारीहरु, समिति सभापतिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया