अब नेपालमा ‘भिडियो कल’ गरेर बैंक खाता खोल्न मिल्ने

५ बर्ष अगाडि

नेपालमै पहिलोपटक मेगा बैंक नेपाल लिमिटेडले  ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याउने भएको छ ।

अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा ल्याएको हो । उक्त माध्यमबाट ग्राहकहरुले घरबाटै आफूले चाहेको खाता खोल्न सक्नेछन् । 

इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । 

यसरी लिन सकिन्छ सुविधा

उक्त सुविधा लिनका लागि पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । वेबसाईटको सबैभन्दा माथि बायाँतर्फ ‘अनलाईन अकाउन्ट ओपन मेनु’ आउँछ । यस मेनुमा क्लिक गरेपछि त्यहाँ मेगा बैंकका विभिन्न बचत खाता योजनाहरु भेटिन्छन् र आफूले कुन खाता खोल्न चाहेको हो, त्यो छान्नुपर्छ । छानिसकेपछि ‘कृएट’ ट्याबमा क्लिक गरेर भिडियो कलसम्बन्धी सुविधा रोज्नुपर्छ । 

ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, मोवाइल नम्बर, इमेल, नजिकको शाखा कार्यालय र भिडियो कलका लागि मिति सहितको विवरण भरी आफ्नो नागरिकता वा पासपोर्टलाई फोटो खिचेर वा स्क्यान भएको भए सोही अनुसार छनौट गरेर अपलोड गर्नुपर्छ । त्यो विवरण प्राप्त गर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया