काठमाडौं । नेपाल टेलिकमका ग्राहकले टेलिफोनकै तारबाट टिभी हेर्न पाउने भएका छन् । आफ्नो फाइबर टु द होम (एफटीटीएच) मार्फत इन्टरनेटसँगै आईपी टिभी सेवा दिने भएपछि टेलिकमका ग्राहकले टेलिकमकै तारबाट टिभी हेर्न पाउने भएका हुन् ।
आईपी टिभीका लागि उपकरण जडान तथा परिक्षण लगायतका आवश्यक प्राविधिक तयारी पुरा टेलिकमले यही पुस १७ देखि आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको हो । टेलिकमका प्रवक्ता राजेशकाजी श्रेष्ठले बताए ।
‘आईपी टिभीका लागि उपकरणहरु इन्स्टलेसन (जडान) र टेष्टिङ्ग (परिक्षण)को काम सकिएकोले फाइनल फेजमा छौंँ’, उनले भने, ‘अब बिलिङ्गको काम मात्र बाँकी छ, त्यो सकेपछि व्यवसायीक रुपमा सञ्चालन हुन्छ ।’
गत फागुनमा पहिलो चरणको परीक्षण गरेको टेलिकमले तत्काल व्यवसायीक रुपमा सञ्चालन गर्ने तयारी गरेको भएपनि कोरोना भाइरसको महामारी, कडाउन र क्लिन फिड नीतिका कारण सञ्चालनमा आउन ढिला भएको उनले बताए ।
हाल परीक्षणकालमा रहेको आईपी टिभीबाट कतिपय ग्राहकले फ्री टु इयर (प्रसारणका लागि शुल्क नलाग्ने च्यानल) प्रयोग गरिरहेका छन् । तर सरकारले क्लिन फिड नीति कार्यान्वयन गरेको कारणले गर्दा विदेशी च्यानलहरुसँग छुट्टै किसिमको सम्झौता गर्नुपर्ने भएकोले केही ढिला भएको हो । ति विदेशी च्यानलहरुसँगको सम्झौताको प्रकृया सकिने वित्तिकै व्यवसायीक प्रशारण शुरु हुने टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताए ।
अहिले प्याकेज तयार पार्ने काम भइरहेको र सो काम अबको दुई चार दिनमै सकिएपछि जनवरी १ देखि यो सेवालाई व्यवसायिक रुपमा नै सञ्चालनमा ल्याउने अधिकारीको भनाइ छ ।
टेलिकमले शुरूमा पुरानो प्रविधिको तामाको तारबाट ल्याण्डलाईन टेलिफोन र एडीएसएल सञ्चालन गरेको थियो । पछिल्लो समय अप्टिकल फाइवर मार्फत फाइबर टू दी होम (एफटीटीएच) प्रविधिमा आधारित रहेर ल्याण्डलाइन र इन्टरनेट सेवा प्रदान गरिरहेको छ । एफटीटीएमा भएको सुविधामध्ये अहिलेसम्म भ्वाइस र इन्टरनेटको मात्र प्रयोग भएकोमा अब भने आईपीटीभी सुविधा पनि उपभोग गरी ग्राहकलाई सेवा र टेलिकमले व्यवसाय गर्ने तयारी गरेको टेलिकमको भनाई छ ।
एफटीटीएच प्रविधिलाई आक्रामक रुपमा विस्तार गरिरहेको टेलिकमले हाल करिब ९६ हजार ग्राहककहाँ एफटीटीएच मार्फत इन्टरनेट सेवा दिएको छ। यसलाई विस्तार गर्ने रणनीति स्वरुप कम्पनीले हालैमात्र २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रति दिन ३०० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध गराउने प्याकेज ल्याएको छ ।
अब सोही अप्टिकल फाइबरमा आईपी टिभी सेवा समेत सञ्चालन भएपछि ग्राहकले ईण्टरनेट, टेलिफोन र टिभी एउटै तारबाट पाउने छन् ।
प्रतिक्रिया