नेपालमा चालू आर्थिक वर्षको ४ महिनामा १५ खर्ब ६ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो चार महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्म विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको हो ।
उक्त सञ्चितिले नेपाललाई १५.४ महिनाको वस्तु आयात र १४.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि बैकिङ्ग क्षेत्रसँग अहिलेसम्मकै धेरै विदेशी विनिमय सञ्चिति बढेको हो ।
विनिमय सञ्चिति भन्नाले वाणिज्य बैंकसँग भएको विदेशी मुद्रा र राष्ट्र बैंकले विदेशी मुद्रा र सुनमा गरेको लगानीलाई बुझिन्छ ।
गत असारमसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब रुपैयाँ थियो । कात्तिकसम्ममा ७.४ प्रतिशतले बढेको हो ।
आयात बढ्दा विदेशी मुद्रा बाहिरिने भएपनि नेपालमा कोरोना भाइरसको महामारीका कारण आयात घटेकोले विदेशी विनिमय सञ्चिति बढेको हो । राष्ट्रबैंकको तथ्यांक अनुसार चार महिनामा आयात १०.८ प्रतिशतले घटेको छ । साउन देखि कार्तिकमसान्तसम्म चार खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा ६ दशमलव ९ प्रतिशतले कमि हो ।
अघिल्लो वर्षको तुलनामा चीनबाट हुने आयात २५ प्रतिशत, भारतबाट हुने आयातमा ३ दशमलव १ प्रतिशत र अन्य मुलुकबाट हुने आयातमा १९.८ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कोभिड–१९ महामारी नियन्त्रणका लागि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय सीमा कडाई गरिरहेकै कारणले पनि वस्तु आयातमा कमी आएको हो ।
यस अवधिमा निर्यात भने १० दशमलव ८ प्रतिशतले बढेर ४० अर्ब २० करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार भारततर्फ १४ दशमलव ९ प्रतिशत र चीनतर्फ ५९ दशमलव २ प्रतिशतले निर्यात घटेको छ । अन्य मुलुकतर्फ ६ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया