ओली गुटलाई छक्याउँदै पुल्चोकमा बादलले राखे भेला

५ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी ओलीपक्षको गुटबेला भैरहेको बेला नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल भने आफ्नो गुटको छुट्टै भेला गरेका छन्। 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्डपक्षका ७ जना मन्त्रीले राजीनामा दिँदा पनि सरकारमै बसेका कारण ओलीपक्षको भनेर आँकलन गरिएका बादल ओली समूहको गुट भेलामा नगएर आफ्नो गुटको छुट्टै भेला गरेका हुन । 

पार्टी विवादपछि ओली कि प्रचण्ड समूहमा लाग्ने भनेर नेताहरुले कित्ता क्लियर गर्ने अभियानमा लागिरहेको बेला पूर्व माओवादी खेमाका बादल भने कुनै पक्षमा पनि नदेखिएका हुन्। 

पार्टी विभाजनको अन्तिम अबस्थामा पुग्दा बादल कुन कित्तामा लाग्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ । तर आइतबार प्रचण्डपक्षले बोलाएको स्थायी समिति बैठकमा अनुपस्थित भएका बादल आज सोमबार बिहान ओली समूहले बालुवाटारमा बोलाएको भेलामा जाने धेरैको आशंका रहेपनि उनी आफ्नो गुटको भेला राखेका हुन् । 

यसअघिपनि कुनैपनि समुहमा नखुलेका बादलले पूर्वमाओवादी समूहबाट मन्त्री भएका ५ जनाले राजनीनमा दिदाँ पनि राजीनामा नदिएपछि उनी ओली पक्षको भनेर आँकलन गरिएको थियो । बादललाई अहिले उनको समूहका धेरै नेताहरुले प्रतिगमनलाई सहयोग पुग्ने ओलीको कदमलाई साथ दिन छोडेर परिवर्तनकारी कित्ता प्रचण्ड नेपाल समूहमा आउन दवाव दिइरहेका छन् । 

बादललाई नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । 

बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ। उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो। 

उक्त समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन्। बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेको बताइन्छ। 

मन्त्रीनिवास पुल्चोकमा १६ जना केन्द्रीय सदस्यहरु भेला भई बादललाई ओलीसँग नमिल्न दबाब दिएका छन् । उनीहरुले पुल्चोकमा भेला गरेर ओलीसँग कुनै हालतमा मिल्न नसकिने भन्दै बादललाई दबाब दिइरहेका छन् । 

पुल्चोकमा भेला हुनेहरुमा स्थायी कमिटीबाट देव गुरुङ र  पम्फा भुसाल छन्। त्यस्तै केन्द्रीय कमिटीमा रहेका हितमान शाक्य, लेखनाथ न्यौपाने, मनोज थापा, यसोदा सुवेदी, सूर्यप्रकाश सुवेदी, सावित्रिकुमार काफ्ले, अमृता थापा मगर,  श्रीराम ढकाल, मायाप्रसाद शर्मा, महेश्वर दाहाल, युवराज भट्टराई, रामदीप आचार्य र सुरेश आलेमगर लगायत नेताहरु छन्। उनीहरुले पार्टी विवादमा अध्यक्ष प्रचण्डसँगै मिलेर जानुपर्ने भन्दै दबाब बढाएको बताइएको छ । 

आइतबार ७ जना मन्त्रीले राजीनामा दिँदा नै बादललाई गृहमन्त्रीबाट राजीनामा दिन सुझाव दिएको भएपनि  उनले राजीनामा दिन आनाकानी गरेपछि नेताहरुले भेटेरै दबाब दिएका हुन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया