काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।
भर्खर सम्पन्न नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धमा केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गर्दै त्यसका लागि पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको छ ।
बैठकले प्रधानमन्त्रीको कदम असंबैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी ठहर गर्दै कारबाहीको प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर स्वेच्छाचारी किसीमले हठात प्रतिनिधिसभा विघठन गरी प्रहार गरेको नेकपाको ठहर गरेको छ ।
पार्टीमाथी जनताले गरेको विश्वास र भरोसामाथी प्रहार गर्दै नेपालको संविधानलाई असफल पार्ने षड्यन्त्र भएको भन्दै नेकपाले उनलाई कारबाही सिफारीस गरेको श्रेष्ठले बताए ।
त्यसैगरी बैठकले कृष्ण बहादुर महारालाई स्थायी कमिटीमा लैजाने समेत निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका स्थायी समिति सदस्यहरु भने उपस्थित थिएनन् । बैठकले ओलीले संसद विघटन गरेकोप्रति विरोध गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
संसद विघटन गरेर ओलीले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमा प्रहार गरेको बैठकले ठहर गरेको छ ।
यस्तै राष्ट्रपतिले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको बैठकले ठहर गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटनको निर्णयलाई राजनीतिक रुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने बैठकले निर्णय गरेको छ । ’
प्रतिक्रिया