मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीसँग बोर्ड अध्यक्षको भेटघाट सम्पन्न

५ बर्ष अगाडि

काठमाडौं - मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना सँग भेट गरेका छन् । भेट गएको पुष ३ गते बोर्डको कार्यालय जावलाखेलमा गरेका हुन्। 

प्रतिनिधिमण्डलको नेतृत्व मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष मेख बहादुर थापाले गरेका थिए ।

उक्त अवसरमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। 

भेटमा एशोसियशनका नवनियुक्त अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकास र विस्तारका लागि मर्चेन्ट बैंकरले निभाउनुपर्ने भूमिकाका सन्दर्भमा एशोसियशनले पहलकदमी गर्ने बताउँदै बोर्डको विशेष सहयोगको अपेक्षा पनि गरे। 

त्यस्तै, एशोसियशनका निवर्तमान अध्यक्ष धु्रब तिमिल्सिनाले धितोपत्र बजार सम्बन्धी नीति निर्माण गर्दा एशोसियशनसँग छलफल गरी बोर्डले उचित स्थान दिएको स्मरण गर्दै आगामी दिनमा समेत यसको निरन्तरता रहने विश्वास व्यक्त गरे । 

भेटका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले मर्चेन्ट बैंकर थप व्यवसायिक हुनुपर्ने तथा प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्नुपर्ने बताए । धितोपत्र बजारमा हालसालका दिनमा सकारात्मक परिवर्तन भइरहेको बताउँदै उनले यस बजारलाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । 

त्यस्तै, उनले बजार सहभागीहरुले लगानीकर्ताको हितलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्नुपर्ने बताए । उक्त भेटमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग र बजार विकासका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया