काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले मर्चेन्ट बैंकरलाई थप व्यवसायिक हुन र प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्न सुझाव दिएका छन् ।
बोर्डमा भेटका लागि पुगेका मर्चेन्ट बैंकर एसोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डललाई ढुंगानाले यस्तो सुझाव दिएका हुन् ।
बोर्डको कार्यालय जावलाखेलमा भएको भेटमा अध्यक्ष ढुंगानाले एसोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले धितोपत्र बजारमा हालसालका दिनमा सकारात्मक परिवर्तन भइरहेको बताउँदै उनले यस बजारलाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा समेत जोड दिए ।
भेटमा एशोसियशनका नवनियुक्त अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकास र विस्तारका लागि मर्चेन्ट बैंकरले निभाउनुपर्ने भूमिकाका सन्दर्भमा एसोसियशनले पहलकदमी गर्ने बताउँदै बोर्डको विशेष सहयोगको अपेक्षा गरे ।
त्यस्तै, एसोसियशनका निवर्तमान अध्यक्ष धु्रब तिमिल्सिनाले धितोपत्र बजार सम्बन्धी नीति निर्माण गर्दा एसोसियशनसँग छलफल गरी बोर्डले उचित स्थान दिएको स्मरण गर्दै आगामी दिनमा समेत यसको निरन्तरता रहने विश्वास व्यक्त गरे।
उक्त भेटमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग र बजार विकासका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया