काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ९ महिना लामो अनुसन्धानमा पनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिद प्रकृयामा भएको अनियमितताका दोषी पत्ता नलगाई उत्तरदायीत्वबाट पन्छिएको छ । अनुसन्धान प्रकृयामा लामो समय गुजारेको समितिले शुक्रबार दायीत्वबाट पन्छिदै अनियमितता गर्ने व्यक्ति किटानै नगरी दोषी पत्ता लगाएर कारबाही गर्न अख्तियारलाई निर्देशन दिएको हो ।
शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालिएको थियो ।
समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको र सामानमा गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा छानविनको आवस्यकता रहेको निश्कर्ष निकालेको हो ।
यद्यपि समितिका सदस्यहरु नै यो विषयलाई त्यतिकै टुङ्गाउने कि छानबिनका लागि लेखी पठाउने विषयमा फरकफरक मत राखेका थिए । सदस्यहरु मीनेन्द्र रिजाल, राजन केसी, प्रदीप यादव लगायतले थप छानविनका लागि अख्तियारलाई लेखि पठाउने निर्णय गर्नुपर्ने पक्षमा देखिए भने अर्का सांसद प्रेम आले भने यो प्रकरणमा राज्यकोषबाट कुनै खर्च नभएको र ठेकेदार कालोसूचीमा परिसकेको अवस्थामा थप कारबाही गर्नुको औचित्य नभएको बताएका थिए ।
यो निर्देशनसँगै ९ महिनादेखि लेखा समितिमा चल्दै आएको स्वास्थ्य सामाग्री खरिद प्रकरणको बहस सकिएको छ । समितिको महिनौंको छलफलले पनि दोषी को हो भन्ने सम्बन्धमा कुनै निर्णय गर्न सकेन ।
प्रतिक्रिया