‘बजारमा कालोबजारी भए सिधै ९८२३–२३७५८८ मा डिजीलाई फोन गर्नुहोस्’

७ बर्ष अगाडि

काठमाडौं– उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले उपभोक्ताले सस्तो मुल्यमा आवश्यक सामाग्री खोज्नु स्वभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् । उनले भने,‘बजारमा चिनीको कुनै अभाव छैन । र, बजार भाउ पनि बढेको छैन् ।’

मन्त्री यादवले पत्रकारहरुले चिनीको अभाव भयो भनेर समाचार लेखेकोप्रति कडा आपत्ति जनाए । उनले आक्रोश पोख्दै भने,‘चिनीको अभाव छ भनेर समाचार लेख्नेहरुलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाईदिन्छौं । त्यसैले अनर्गल प्रचार गर्नुहुँदैन् । यस्तो अनर्गल प्रचारले देश कहिल्यै बन्दैन् ।’

यादवले बजारमा कुनै मुल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलई आग्रह गरे । उनले भने,‘हामी अहिले अनुगमन गरिरहेका छौं । बजार अनुगमन गरिएन भनेर भनिएको छ । भोलि गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल छ । हामी एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होईन, पुरै देशमा बजार अनुगमन गर्छौं।’ यद्धपी उनले भन्नेबित्तिकै छु मन्तर नहुने स्पष्ट पारे । यादवले भने,‘विगतमा सरकार थिएन, तर अहिले हामी बजारमा पुगिरहेका छौं । बजार अनुगमन गर्न हाम्रो निरन्तर प्रयास छ।’

उनले आफूले अहिले आपुर्ति सहज गर्ने, बजार भाउ नियन्त्रण गर्ने र कालोबजारी हटाउन कोशिश गरिरहेको सुनाए । त्यस्तै उनले चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको भनेर आरोप लगाउँदै हल्ला भएको सुनाउँदै भने,‘अहिलेको जमानामा त्यति सजिलो छ र ? यत्रो पैसा चलखेल गर्नलाई, ट्रकबिना त्यत्रो पैसा चल्दैन् । जीपमा बोकेर हुँदैन् । एउटा ट्रकलेमात्रै पनि हुँदैन् । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ। अर्बोंको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि। यसमा निश्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्रपनि लेखेको छु।’

देशको अर्थतन्त्रलाई मजबुद बनाउनको लागि आफ्नो उत्पादनलाई सुरक्षित गर्नुपर्ने मन्त्री यादवको भनाई छ । उनले भने,‘मागेर खाएर अर्थतन्त्र मजबुद हुँदैन् ।’ चाडपर्वको मौका छोपेर बजारमा कालोबजारी, अनियमितता, कृत्रिम अभाव र मुल्य वृद्धि गरेको थाहा पाए तुरुन्त आफूहरुलाई सम्पर्क गर्न आग्रह गर्दै डिजी योगेन्द्र गौचनको मोवाईल नम्बर ९८२३–२३७५८८ पत्रकारहरुलाई टिपाएका थिए । 


 

७ बर्ष अगाडि

प्रतिक्रिया