सिनेमा हल खोल्न सरकार सकारात्मक ः अध्यक्ष दाहाल

५ बर्ष अगाडि

काठमाडौं, कोरोना भाइरसका कारण १० महिनादेखि बन्द रहेका सिनेमा हल खोल्न सरकार सकारात्मक रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । अबको एक हप्ताभित्र सरकारले सिनेमा हल खोल्ने निर्णय गर्न सक्ने उनको विश्वास छ । चलचित्र विकास बोर्डको आग्रहमा सूचना तथा सूचना मन्त्रालयले सिनेमा हल खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उनले बताए ।
 
मंगलवार फिल्म ‘माया बस्छ कि के हो’ को फर्स्टलुक पोस्टर र शिर्ष गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने( ‘जेठ २७ गते म चलचित्र विकास बोर्डमा अध्यक्षको रुपमा आएपछि असार १० गते सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई यथाशिघ्र फिल्म क्षेत्र खोइयोस् भनेर पत्र पठाएको थिएँ । त्यसपछि विभिन्न चरणमा फिल्म क्षेत्र खोल्न ढिला नगरौं भनेर मन्त्रालयलाई पत्र लेखेको थिएँ ।’
 
सिनेमा हल खुलेपछि अपनाउनु पर्ने मापदण्ड समेत चलचित्र विकास बोर्डले तयार गरेर सिसिएमसीलाई बुझाएको उनले बताए । सिसिएमसी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलगायत आवश्यक ठाउँमा चलचित्र विकास बोर्डले बुझाएको मोडालिटी स्वीकृत भइसकेको उनको भनाई छ । अब स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्म सम्बन्धि गतिविधि सुचारु गर्न उनको आग्रह छ ।
 
सरकारले फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिएपछि चलचित्र विकास बोर्डले गर्न सक्ने सहयोग सुरु हुने उनले बताए । उनले भने ‘फिल्म निर्माण गर्नेलाई बिमाको व्यवस्था, चलचित्र प्रदर्शन गर्नेलाई प्रचार(प्रसारका सामाग्री छपाईमा सहयोग, टेलिभिजन विज्ञापनमा विशेष छुट, सिनेमा घरलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदा चाहिने सामाग्रीमा बोर्डले सक्ने सहयोग गर्नेछ’।

५ बर्ष अगाडि

प्रतिक्रिया