पाँच हजार नेपालीले काम गर्ने कम्पनीका एक चौथाई कर्मचारीमा कोरोना

५ बर्ष अगाडि

काठमाडौं — पाँच हजार नेपालीले काम गर्ने मलेसियाको एक कम्पनीका एक चौथाईँ कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  

मेडिकल पन्जा उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी टप ग्लोब्सले श्रमिकको स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा ५ हजार १ सय ४७ जना श्रमिक कोरोना संक्रमित भएका हुन् ।

२१ हजार श्रमिक कार्यरत कम्पानीमा ५ हजार नेपाली मात्रै कार्यरत छन् । तर, कम्पनीमा कार्यरत कति नेपाली श्रमिक संक्रमित भएको भन्नेबारे खुलाइएको छैन ।

संक्रमितमध्ये कोरोना भाइरसबाट संक्रमित नवलपरासीका यमनारायण चौधरीको शनिबार बिहान मृत्यु समेत भएको छ। दुई वर्षअघि मलेसिया पुगेका उनलाई नोभेम्बर २१ मा केलाङ अस्पतालमा भर्ना गरिएको थियो ।

श्रमिकलाई व्यवस्थित बासस्थलमा नराख्दा र कार्यस्थलमा सीमित श्रमिक प्रयोग नगर्दा एकै पटक धेरै संख्यामा श्रमिकहरू संक्रमित भएका हुन् । सरकारले टप ग्लोब्सका ४१ उद्योगमध्ये २८ वटालाई बन्द गराएको छ । 

टप ग्लोब्सका उद्योगहरूमा कार्यरत श्रमिकलाई गत महिनादेखि नै संक्रमण देखिन थालेको थियो । त्यतिखेर नै कम्पनीले आवश्यक ध्यान दिन सकेको भए महामारीको रूप नलिने थापाको दाबी छ । कम्पनीले श्रमिकलाई सामाजिक दूरीमा नराखेको भन्दै फोटो खिच्ने नेपाली श्रमिक युवराज खड्कालाई कामबाट निष्कासन समेत गरिएको छ । 

श्रमिकलाई बाध्यकारी श्रममा लगाएको भन्दै अमेरिकाले टप ग्लोब्सद्वारा उत्पादित मेडिकल पन्जा खरिदमा रोक लगाएपछि कम्पनी दबाबमा परेको थियो । कम्पनीले श्रमिकहरू आउँदा लागेको लागत खर्च शोधभर्ना गर्न सुरु गरिरहेका बेला श्रमिकमा कोरोना संक्रमण फैलिएपछि अर्को चुनौती थपिएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार मलेसिया सरकारले नै टप ग्लोब्समाथि निगरानी बढाइरहेको छ ।

कम्पनीले श्रमिकको बासस्थलको सुरक्षा र सुधारका लागि १७।५ मिलियन अमेरिकी डलर लगानी गरिसकेको जनाएको छ । ‘दुई महिनाभित्र ५ मिलियन डलर खर्च गरेर एक सयवटा अपार्टमेन्ट खरिद गर्नुका साथै केही आवासीय भवनहरू भाडामा लिइने छ । 

मलेसियामा पछिल्लो समय दैनिक १ हजारभन्दा बढी कोरोना संक्रमितहरू फेला पर्ने गरेका छन् । विदेशी श्रमिक बस्ने बासस्थल र कार्यस्थल भीडभाडयुक्त भएकोले संक्रमण फैलिएको भन्दै व्यवस्थित गर्ने मलेसियाका सरकारी अधिकारीहरूले बताउँदै आएका छन् । मलेसियामा हालसम्म ८३ हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ । १३ हजार ६ सयको हाराहारी सक्रिय संक्रमित छन् । ४ सय १५ जनाको मृत्यु भइसकेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया