काठमाडौं । पछिल्लो तीन दिनमा दुई मझौला आयोजनाको सुरुङ निर्माण ब्रेक थू्र भएको छ ।
दोलखामा निर्माणाधिन २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत् आयोजनाको आज सुरुङ निर्माण सकिएको हो ।
यही असोज १८ गते लम्जुङमा आयोजना स्थल रहेको दोर्दी ए जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको थियो ।
निर्माणमा रहेका दुई मझौला आयोजनाको सुरुङ निर्माण सकिनुले जलविद्युत् उत्पादनमा नेपालमा पछिललो समय युद्धस्तरमा काम भइरहेको छ भन्ने सहजै अनुभव गर्न सकिन्छ ।
ती दुई आयोजनाको क्षमता ५० मेगावाट रहेको छ । निजी क्षेत्रले निर्माण गरिरहेका दुई आयोजना आफैमा महत्वपूर्ण आयोजना हुन् ।
पछिल्ला दिनमा निर्माणमा रहेका सरकारी लगानीका आयोजना अनेकन समसयामा फसीरहेको बेला निजी क्षेत्रका आयोजनाले भने उल्लेख्य प्रगति गरिरहेका छन् ।
त्यसो त नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको हैसियत समान हुन पुगेको छ । कूल जडित क्षमताको हिसाबले सरकारी र निजी लगानी समान हैसियतमा पुगेको हो ।
सिगंटी जलविद्युत आयोजनाको पहिलो खण्डको सुरुङ शनिबार अपरान्ह छेडिएको हो ।
अडिटदेखि माथिल्लो भागको २ हजार ९ सय मिटर सुरुङ पूरा भएको हो । पहिलो खण्ड निर्माण सम्पन्न भएको छ ।
‘सुरुङ निर्माण सकिएपछि आयोजनाको प्रगतिमा प्रगतिमा इँट्टा थपिएको आयोजना निर्देशक काजी लामा बताउँछन् । सो आयोजनाको सुरुङ निर्माण सकिए सँगै आगामी ५ महिना भित्र विद्युत् उत्पादन हुने छ ।
काम सुरु भएको २ वर्षमा ८० प्रतिशत निर्माण पूरा भएको सिंगटी आयोजनाले जनाएको छ ।
बाँध क्षेत्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अब सुरुङभित्र फिनिसिङ सुरु हुनेछ । आगामी चैतभित्र विद्युतगृह पनि पूरा हुने कम्पनीले जनाएको छ ।
कूल १२.५ मेगावाट क्षमताका दुई टर्वाइनबाट विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा जोडने तयारी गरिएको छ । आयोजनाको लागत रु ४ अर्ब ६३ करोड रहेको छ ।
सिंगटीमा सिभिल बैंकको नेतृत्वमा १० बैंकले रु ३ अर्ब ३० करोड ऋण लगानी गरेका छन् भने रु १ अर्ब ४५ करोड रुपैयाँ इक्विटी रहेको छ ।
विद्युत् विकास विभागबाट सुरुमा १६ मेगावाटको अनुमतिपत्र लिए पनि पछि क्षमता बढाएर २५ मेगावाट बनाइएको थियो सिंगटी ।
यस्तै लमजुङको दोर्दी करिडोरमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजनाको सुरुङ निर्माण यही असोज १८ गते सकिएको हो ।
विसं २०७१ देखि निर्माण शुरु भएको आयोजनाको कुल २ हजार ६२३ मिटर लामो भुमिगत सुरुङ निर्माण सम्पन्न भएको लिवर्टी इनर्जीले जनाएको छ ।
विद्युतगृह र बाँधको कुल दुरी ५ हजार ४५७ मिटरमध्ये २ हजार ८ सय ३४ मिटरको भागमा पेनस्टक पाइप जडान भइसकेको छ ।
प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जीले आयोजनाको कुल प्रगति ८० प्रतिशत बढी भएको जनाएको छ । आगामी चैत महिनाभित्र आयोजनाको भौतिक निर्माणको काम सम्पन्न गर्ने तयारीमा कम्पनी छ ।
दोर्दी गाउँपालिका वडा नं ६ मा निर्माण गरिएको सो आयोजनामा १२.५ मेगावाट क्षमताका २ वटा पेल्टन टर्बाइन रहने छ ।
आयोजनाको कूल लागत ४ अर्ब रहेको छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वपूँजी रहेको छ ।
आयोजनामा विभिन्न ९ बैकले २ अर्ब ७७ करोड ४० लाख लगानी गरेका छन् । बार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुन प्रवद्र्धक लिबर्टी इनर्जीले जनाएको छ ।
प्रतिक्रिया