प्रधानमन्त्री तथा संबैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक बस्दै नबसी रोकिएको छ । बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक रोकिएको हो ।
परिषदको बैठकका एजेण्डाहरु ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि अध्यक्षले एजेण्डा नदिएकोले सभामुख अनुपस्थित भएको बताइएको छ ।
बैठकका लागि अध्यक्ष ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, विपक्षी दलका नेता शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना बालुवाटारमा भेला भएका थिए ।
यसअघि आइतबार पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक सरेको थियो ।
प्रधानमन्त्री ओलीले अख्तियार, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियुक्तिका लागि परिषदको बैठक बोलाएका थिए ।
नियुक्तिहरुका लागि विपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्रीले परामर्श गरे पनि आफ्नै दलका नेताहरुसँग परामर्श नगरेको भन्दै नेकपाभित्रै असन्तुष्टि चुलिएको छ ।
स्रोतका अनुसार, गत मंसिर ७ मा ओली र देउवाबीच सुटुक्क भएको वार्ताले संवैधानिक निकायमा सहमति जुटाउन सुवास नेम्वाङ र रमेश लेखकलाई जिम्मा दिएको थियो । विभिन्न पदमा भागवण्डा गर्ने नेम्वाङ र लेखकबीचको गृहकार्यपछि आइतबार र मंगलबार संवैधानिक परिषद् बैठक बोलाइएको हो ।
प्रतिक्रिया