काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आज सोमबारदेखि आईपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । एक कित्ता आईपीओको मुल्य रु. १०० तोकिएको छ ।
कमपनीको कुल आईपीओमा ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । त्यो अनुसार बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणले पाउने छन् ।
कम्पनीलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले मंसिर ११ अनुमति दिएको थियो । त्यसपछि कम्पनीले भोलिदेखि आवेदन खुल्ला गर्ने लागेको हो । आईपीओको निष्काशन अवधी छिटोमा पुस २ गतेसम्म खुल्ला गरिने छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यसमा आस्वा प्राप्त बैंक र मेरो शेयर मार्फत आवेदन दिन सकिने छ । आम सर्वसाधारणले न्यूनतम १० कित्ता शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक पनि गरेको छ । त्यो अनुसार कम्पनीले समिक्षा अवधीमा नाफा २.५ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड २२ लाख मुनाफा आर्जन गरेको थियो । अहिले त्यो वृद्धि भएर रू.३ करोड ९ लाख भन्दा बढी नाफा कमाएको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३ करोड २९ लाख ८२ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएरु रू. ४ करोड १३ लाख ११ हजार पुगेको वित्तिय विवरणमा उल्लेख छ ।
यस्तै, चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. २३ करोड ९१ लाख जम्मा गरेको छ । यस्तै, जीवन बीमा कोषमा रू. १ अर्ब १९ करोड ४९ लाख भन्दा बढी सञ्चित गरेको देखिन्छ ।
सो अवधिमा कम्पनीले रू. २५ करोड ९७ लाख भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।गत आवको तुलनामा बीमाशुल्क ९५ प्रतिशत वृद्धि भएको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले ५८ जनालाई रू. ६१ लाख ६८ हजार दाबी भुक्तानी गरेको छ भने २ जनालाई रू.४१ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया