भक्तपुर– भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३२ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो ।
उहाँले हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१३ टन फोहर सङ्कलन भएको र आज भक्तपुरको सूर्यविनायक र भक्तपुर नगरपालिका जोड्ने घताले क्षेत्रको हनुमन्ते सरसफाइ गरिएको बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानको क्रममा आज १३ वटा विभिन्न सङ्घ संस्था र ३७६ जना अभियन्ताको सहभागिता रहेको थियो । अभियानका क्रममा बस्नेतले हनुमन्ते सफाइ अभियान जारी रहँदा हनुमन्तेमा फोहर फाल्ने क्रम जारी रहेकाले त्यसलाई रोक्न नगरपालिकाले कडा नीति ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सफाइ अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो नगरक्षेत्र भएर बग्ने हनुमन्ते नदीमा फोहर फाल्नेलाई कडा कारवाही गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको बताउनुभयो ।
प्रतिक्रिया