लाङ्टाङ पदमार्गका पर्यटकीय होटल बन्द

५ बर्ष अगाडि

कोभिड– १९ को संक्रमण  बढ्न थालेपछि लाङ्टाङ पदमार्गका होटल आजदेखि बन्द गरिएको छ । लकडाउन खुलाभएपछि स्वास्थ्यको मापदण्ड पालना गरी  पुनःसञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयौँ पर्यटकीय होटल तथा लज बन्द भएको हो । 

चिसोयाम बढेसंँगै पर्यटकको ओहरदोहरले लाङ्टाङ  क्षेत्रमा कोरोना संक्रमण बढ्न  सक्ने आशंकाले केही महिनाका लागि  होटल तथा लज बन्द भएको वडाध्यक्ष सुप्पा लामाले जानकारी दिए । रोग नियन्त्रणका लागि  पदमार्गमा सञ्चालित होटल व्यवस्थापन समितिको निर्णयबाट रिम्चे, लामाहोटल, घोडातबेला, लाङ्टाङ, मुण्डु एवं क्याङ्जेनसम्मका  सबै होटल तथा लज बन्द गरिएको  वडा कार्यालयले जनाएको छ ।
      
दैनिक रूपमा ४० भन्दा बढी नेपाली र तीनचार  विदेशी पर्यटक लाङ्टाङ घुम्न आउने गरेको वडाध्यक्ष तामाङले बताए । घुम्न आउने विदेशी पर्यटक भने नेपालमै बस्दै आएका छन् । 
         
जनस्वास्थ्य कार्यालय रसुवाका अधिकृत किरण श्रेष्ठका अनुसार स्वाब परीक्षणबाट पछिल्लो चरणमा धुञ्चे क्षेत्रमा कार्यरत सात  राष्ट्रसेवकलाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबै उपचारार्थ आइसोलेशनमा  छन् ।  जिल्लामा  कोरोना रोगबाट प्रभावित ४५ जनाको उपचार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
   
 जिप्रकाका सेवा बन्द

यसै गरी कोरोनाको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सुरक्षा  एवं विपद् व्यवस्थापन र आपत्कालीनबाहेक अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्म आजदेखि बन्द गरिएको छ ।
      
नेपाली नागरिकता, नाबालक परिचयपत्र, संघसंस्था दर्ता तथा नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण जस्ता सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया