काठमाडौं–प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक सहीदहरुले देखाएको बाटोबाट अघि बढिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुकै अगुवाईमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै त्यसलाई संचालन गर्ने जिम्मेवारी पनि कम्युनिष्टहरुकै काँधमा आउनु गौरवको विषय भएको उल्लेख गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रचना, स्थापना र संचालन गर्ने अभिभारालाई कम्युनिष्ट नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गर्ने दावी समेत गरे ।
सोमबार काठमाडौंमा सुखानीका सहीदहरुको स्मृतिमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अव मुलुक सहीदहरुको उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सिंगै कम्युनिष्ट शक्तिलाई एकतावद्ध बनाएर मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गरिछाडने घोषणा पनि गरे । उनले कम्युनिष्ट छटपटाइरहेको पनि दावी गरे । प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनले प्राप्त गरेको असाधारण सफलतालाई जोगाउँदै नेपाली जनताको आकांक्षालाई पूरा गर्न लागि पर्ने पनि बताए ।
२०२९ साल फागुन २१ गते आजकै दिन तत्कालीन पञ्चायती शासकले झापाका क्रान्तिकारीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठलाई झापाबाट इलाम जेल सार्ने बहानामा सुखानीको चारकोशे झाडीमा लगेर गोली हानि हत्या गरेको थियो । सोही दिनको स्मरण गर्दै एमालेले हरेक वर्ष आजकै दिनलाई सहीद दिवसको रुपमा मनाउने गरेको छ ।
प्रतिक्रिया