काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले स्थिरता र शान्ति सुव्यवस्था दिन नसकेको आरोप लगाएका छन् ।
कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले अहिले पश्चाताप मानिरहेको उनको दाबी छ ।
काठमाडौं क्षेत्र नम्बर १ को १० नम्बर इकाईद्वारा आज आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘जनतालाई स्थिरता दिन्छु भन्ने सरकारको स्थिरता यही हो त ?’
दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै उनले आलोचना गरे । अहिलेको अवस्थालाई उनले माओवादी जनयुद्धको त्राससँग तुलना गरे । नेता सिंहले भने,‘जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन् ।’
महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको उनले बताए ।
‘कांग्रेस यस्तै हो, एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ । छटपटि सबैलाई भइरहेको छ । बरु कांग्रेस नै ठीक भन्न थालिसके ।’
नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको पनि सो क्रममा उनले जानकारी दिए ।
प्रतिक्रिया