‘८० वर्षिय हजुरवुवाको बृद्धभत्ताले विपनाको शिक्षा र घर चल्दै आएको छ ।’
चुहिने खरको छानो । भत्किनै आँटेको घर । खाने खर्च नै नभएको भान्सा । सुत्नलाई चिसो भुइ । जहाँ विहान साझँ पेट भर्नको मात्रै चिन्ता हुन्छ, त्यहाँ शिक्षा कुरा त विरालै थियो ।
बालबालिकाका आधारभुत अधिकारले समेत छुन सकेको छैन, प्यूठान नगरपालिका १ सालघारी की ११ वर्षिय विपना नेपालीलाई । अभावका वीचमा विपनाको सपनाका आधार हुन, उनका ८० बर्षिय हजुरवुवा आईतबहादुर नेपाली ।
विपनाका वुवा सम्पर्कमै छैनन् । ५ वर्षकै उमेरमा आमा दोश्रो विहे गरि गइन् । ‘हजुरवुवाकै बृद्धभत्ताले पढाईलाई निरन्तरता दिएकी छु ।’ उनले भनिन्, ‘हजुरवुवालाई स्याहार गर्दै स्कुल जान्छु ।’ विपना माण्डवी मा.वि. नयाँगाँऊमा कक्षा ७ मा अध्ययनरत छिन् ।
तीन महिनामा एक पटक मासिक दुई हजारका दरले आउने बृद्धभत्ता नै घर चलाउने र शिक्षाको आधार हो ।
‘मेरो सानैदेखिको सपना थियो गायिका बन्ने’ ,आफ्नो भविष्य बारे उनि भन्छिन्, ‘कस्ले लगानी गर्ने, कोही छैन, मेरो पढाइ लेखाइमा खर्च गर्ने बाजेसंग पैसा पनि छैन, कुनै दिन म ठुलो मान्छे बने भने म जस्ता टुहुरा बालबालिकाको रहर अनि चहाना पुरा गर्ने लक्ष्य छ ।’
‘मजस्ता बालबालिकाकै कथामा बाल गित गाउने रहर छ ।’ ,आँखाका आँसु टिलपिल पार्दै उनले भनिन्, ‘ गरिब परिवारमा जन्मनु र अभिभावक विहिन हुनु मेरो लागि दुर्भाग्य नै भो ।’ ‘जुन बालबालिकामा नांगो ढाक्ने, भोक मेट्ने र ओभानो ठाउँमा सुत्ने चिन्ता छ, त्यसको इच्छा, चाहाना र सपनाहरु कसरी साकार हुन्छ त ?’ ,विपनाले प्रश्न गरिन् ।
कक्षा ३–४ मा पढ्दा देखिनै विद्यालयको अतिरिक्त कार्यक्रम सहभागी भइ राम्रो गित गाउँदै आएको उनका साथीहरु बताउछन् । शिक्षकहरुले हरेक कार्यक्रममा सपनालाई गित गाउन लगाउछन् । विपनाले गाउने गीतको सवैले तारिफ गर्छन् ।
हो, उनी जस्ता थुप्रै अभिभावक विहिन बाल बालिकाहरु संरक्षण विहिन छन् । यस्ता बालबालिकको संरक्षण गर्नु राज्यको दायित्व हो ।
बाल बालिकाहरुको बृहत्तर विकासका लागि बजेट नभएको पनि होइन, तर अभिभावक विहिन बालबालिकाहरुले अझै पनि बेसाहारा बन्नु परेको छ । बालबालिकाहरुको संरक्षणका लागि बाल संरक्षण गृह संचालनको तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनुभयो । जिल्ला बालकल्याण समिति र स्थानीय सरकारहरुको साझेदारीमा गृह संचालनको तयारी भएको उहाँको भनाई छ ।
जिल्ला बाल कल्याण समिति र मल्लरानी गाउँपालिको संयुक्त संरक्षणमा रहने गृह स्थानीय गैर सरकारी संस्थाले संचालन गर्ने तयारी छ ।
– सौजन्य : बाल सरोकार फिचर सेवा, एफएनजे, प्यूठान
प्रतिक्रिया