शपथअघि लुसुक्क पसेका सिलवालको शपथपछि यस्तो फुर्तीफार्ती

७ बर्ष अगाडि

काठमाडौँ- आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाका सदस्य र ५ बजे राष्ट्रिय सभाका सदस्यको शपथ तय गरिएको थियो । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहानैदेखि संसद् सचिवालयका कर्मचारी तयारीमा व्यस्त थिए । सांसदहरू दिउँसो २ बजेदेखि नै संसद् भवनमा छिर्न सुरु गरेका थिए ।

यता प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद नवराज सिलवाललाई धेरै पत्रकार तथा सांसदले ‘नोटिस’ गरिरहेका थिए ।

पूर्वडिआइजीसमेत रहेका सिलवाललाई आइजिपी बढुवाका क्रममा कार्यसम्पादन मूल्यांकन किर्ते भएको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएको थियो ।

आदेशपछि ५ पुसमा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरीपछि परिसरले सिलवाललाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो ।

लगत्तै ललितपुर परिसरले सिलवालविरुद्ध पक्राउ पुर्जी काटेको थियो । तर, उनी फरार हुँदै आएका थिए ।

शनिबार एमाले–माओवादीका सांसदहरूको प्रशिक्षणमा झुल्किएका उनी आइतबार शपथ खान पनि गए । स्रोतका अनुसार एमाले नेता माधवकुमार नेपालको गाडीमा उनी संसद् भवन पुगेका थिए ।

शपथपछि अन्य सांसदभन्दा ढिलो गरी बाहिरिए र अन्य सांसदसँग फोटो खिचाए । उनी सञ्चारकर्मीसँग कुरा गर्न तयार पनि भए ।

प्रहरी संगठनमा काम गरेको व्यक्ति, राजनीतिमा लागेर जनप्रतिनिधिका रूपमा शपथ लिँदा कस्तो अनुभव गर्नुभयो भन्ने प्रश्नमा जवाफ फर्काए, ‘म अहिले केही भन्ने पक्षमा छैन ।

मैले जिम्मेवारी पाएको छु । जिम्मेवारी निर्वाह गर्नेछु ।’ धेरै बोल्न नचाहे पनि शपथपछि भने उनमा उत्साह र आत्मविश्वास देखिन्थ्यो । आजको नयाँ पत्रिकामा खबर छ |

७ बर्ष अगाडि

प्रतिक्रिया