काठमाडौं– मासु व्यवसायीहरुले सरकारले अनुगमनको नाममा आफूहरुलाई दुःख दिएको गुनासो गरेका छन् । मासुु व्यवसायमा आवद्ध नेपाल खड्गी सेवा समिति, पशु बधशाला व्यवसायी संघ, चौपाया खरिद विक्री सेवा संघलगायतका संस्थाहरुले सोमबार काठमाडौंमा अन्तरक्रिया गरी सरकारले बजार अनुगमनको नाममा दुःख दिएको गुनासो गरेका हुन् ।
त्यसक्रममा उनीहरुले नकारात्मक ढङ्गले प्रचार गरेर आफूहरुलाई दुःख दिने काम नगर्न पनि सरकारलाई चेतावनी दिएका छन् ।
नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले सरकारले चाडबाडका बेलामा आएर बजार अनुगमनको नाममा दुःख मात्रै दिने गरेको दावी गरे ।
उनले व्यवसायीहरुको चरित्र नकारात्मक ढंगले प्रस्तुत नगर्न पनि सरकारलाई चेतावनी दिए ।
त्यसैगरी चौपाया खरिद विक्री सेवा संघका महासचिव दिपक थापाले राज्यले गैर जिम्मेवार ढंगले बजार अनुगमनको नाममा आफूहरुलाई मारमा पारेको आरोप लगाए ।
खसी, बोका बढि वा घटी जे भएपनि राज्यद्धारा नै आफूहरुले सास्ती व्यहोर्नु परेको पनि संघका महासचिव थापाको गुनासो छ ।
यता, पशु बधशाला व्यवसायी संघले पनि अनुगमन गरेर सरकारले दसैंजस्तो चाडपर्वका बेला पनि व्यवसायीहरुलाई सास्ती दिएको भन्दै चर्को आलोचना गरेको छ । संघका महासचिव कृष्णहरि भट्टले बजार अनुगमनमा आफूहरुलाई प्रतिनिधित्व नगराएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
मासु व्यवसायीहरुले बशशालाहरुको उचित व्यवस्था गर्न सरकारलाई दवाव दिँदै आएका छन् ।
प्रतिक्रिया