काठमाडौं – कोरोना बीमामा झण्डै पौने अर्ब रकम बराबरको दावी आवेदन भुक्तानी हुन बाँकी भएको पाइएको छ । बीमा कम्पनीहरुले बिभिन्न प्राविधिक कारण देखाउँदै कोरोना बीमाको दावी रोकपछि ७१ करोड २८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी रहेको छ । बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।
कोरोना बीमा दावी पेश भएको ७ दिन भित्र नै भुक्तानी गरिसक्नुपर्ने हुन्छ । तर, कम्पनीहरुले समयमा नै दावी भुक्तानी हुन सकेको छैन । तथ्यांकअनुसार शुक्रबारसम्म ७ हजार ४४० जनाको दावी आवेदन पेन्डिङमा रहेको छ । नक्कली पिसीआर रिपोर्ट हुन सक्ने सम्भावना, कोराना कारण कार्यालय बन्द हुने लगायतका समस्याका कारण दावी भुक्तानी ढिलाई भएको बताइएको छ । समितिकाअनुसार हालसम्म रु. १ हजार २९ जनाले मात्र रु. ९ करोड ७० लाख ५० हजार मात्र दावी भुक्तानी गरेका छन् । शुक्रबारसम्म बीमा कम्पनीहरुमा रु. ८० करोड ९८ लाख ५० हजार बरारबको दावी आएको परेको थियो ।
यस्तै, हालसम्म कोरोना बीमाबाट रु. ८६ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । त्यसमा दावी भएको रकम कटौती गर्दा अहिले कम्पनीहरुसँग ७७ करोड २८ लाख रुपैयाँ बीमाशुल्क बचतमा रहेको देखिन्छ । साथै, सोही रकम बराबर नै दावी भुक्तानी हुन बाँकी छ । हालसम्म १५ लाख १४ हजार भन्दा बढी व्यक्तिले बीमा गरेका छन् ।
यता दावीमा ढिलाई हुन थालेपछि समितिले कोरोना बीमाको दावी भुक्तानीमा एकद्धार प्रणाली लागू गर्न लागेको छ । सम्भवत आज आइतबारदेखि नै त्यो लागू हुने समितिको भनाइ छ । त्यो नीति लागू भएपछि बाँकी भएको दावी भक्तानीलाई सेटेलमेन्ट गरिने कम्पनीहरुको भनाइ छ ।
बीमा समितिले गत बेशाख ७ गतेदेखि कोरोना बीमाको सुरुवात गरेको छ । पहिलो रु. १ लाख र ५० हजार बीमांकको बीमा गर्न सकिने व्यवस्था थियो । तर, भदौ २९ गतेबाट त्यो व्यवस्था हटाइएको छ । भदौं २८ गतेसम्म बीमा गर्ने व्यक्तिले बीमांक रकम बराबरको नै दावी पाउने छन् । त्यस यता बीमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा रू. २५ हजार पाउने छन् । संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा अस्पतालको बिलको आधारमा रू. ७५ हजारसम्म भुक्तानी पाउँछन् ।
हाल निर्जीवन बीमा कम्पनीहरुले लघुबीमा पुल मार्फत यो बीमा गदै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व सबै बीमा कम्पनीहरुलाई बराबर मात्रामा बाड्दै आइएको छ ।
कोरोना बीमो व्यवसायीक अवस्था
कुल बीमाशुल्क संकलन – रु. ८६ करोड ९२ लाख
बचत बीमाशुल्क – रु. ७७ करोड २९ लाख
कुल दावी आवेदन – रु. ८० करोड ९८ लाख
भुक्तानी हुन बाँकी दावी – रू. ७१ करोड २८ लाख
प्रतिक्रिया