तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ का स्थानीयवासीले मङ्गलबार विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन् । आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका मागहरु सम्बोधन गर्ने चासो नदिएको भन्दै प्राथामिकताका आधारमा सम्बोधन गर्न ३५ बुँदे माग पत्र बुझाएका हुन् ।
बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटालाई उक्त पत्र हस्तान्तरण गरेका हुन । स्थानीयवासीले आयोजनाको कार्यालय तथा आवास क्षेत्रभित्र परेको बेल्टार–बच्याङगौंडा वनको रुखबिरुवाको हालसम्म पनि क्षतिपूर्तिको व्यवस्था नभएकाले तत्काल लागत लिई उचित क्षतिपूर्ति वन समूहलाई हस्तान्तरण गर्न जोडदार माग गरेका छन् ।
झापुटार र बेल्टार क्षेत्रमा विगतमा मुकुर्लुक खानेपानी योजनाको आपूर्तिमा पूर्णक्षति पुगेपछि हाहाकार भएको र पानीको तत्काल व्यवस्थापनका लागि उनीहरुले माग गरेका छन् । आयोजनाको सुरुङ निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा सो खानेपानीको मुहानमा क्षति पुगेको र हाइड्रोकै सहयोगमा किस्रिडी रोह्ङसिँडी खानेपानी योजना सञ्चालन भएता पनि पर्याप्त बजेटको अभावमा सो योजना अधुरो र आपूर्ति बन्द रहेकाले तत्काल सञ्चालन गर्न माग गरेका छन् ।
छिटोभन्दा छिटो खानेपानीको पाइप टोलटोलमा विस्तार गरी धारामा पानीको व्यवस्था गर्न तत्काल बजेटको व्यवस्थापन गर्न जोडदार माग गरिएको मागपत्रमा उल्लेख छ । आयोजनाको कार्यालयद्वारा जडान गरिएका पुराना सडक बत्तीहरुको नियमितरुपमा मर्मत गर्नुपर्ने तथा त्यस्ता बत्ती अन्य स्थानमा पनि विस्तार गर्न माग गरिएको स्थानीय टेकबहादुर गर्जामगरले बताए। “टाठाबाठाले त जसोतसो एक ग्रागी पानी भर्न सक्छन्, ‘सिधासाधाले त कुनै समय रित्तै गाग्री घरमा लैजानुपरेको अवस्था छ”, उनले भने ।
सिनो हाइड्रो कम्पनीले ऋषिङ–१ बन्चरेमा निर्माण गरेको क्रसर प्लान्टका कारण कम्पन ह्ुँदा ध्वनी एवं वायु प्रदूषण उत्पन्न भई त्यस क्षेत्रका घरमा क्षति पुगेकाले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएको भन्दै उचित क्षतिपूर्तिसहित स्थानान्तरण गर्न पहल गरेका हुन् ।
प्रतिक्रिया