काठमाडौं – अब लघुवित्त वित्तिय संस्थामा संस्थापक शेयर स्वामित्व पनि न्यूनतम ५१ प्रतिशत बनाउन सकिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा (४) को प्रयोजनको लागि देहायमा उल्लिखित शर्तहरुको अधीनमा रही न्यूनतम ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको सेयर स्वामित्व रहेका संस्थाका संस्थापक सेयरधनीहरुले चाहेमा संस्थापक समूहको सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले हालै एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसका लागि वित्तिय संस्थाले वित्तीय कारोबार सञ्चालन गरेका दश वर्ष पुरा गरेको हुनु पर्ने राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, ५१ प्रतिशतभन्दा बढी भएको सेयर स्वामित्व धितोपत्र विनिमय बजार लिमिटेड मार्फत खरिद÷बिक्री÷परिणत गर्ने प्रयोजनको लागि संस्थापकहरुको सेयर लगानीको अनुपातमा समानुपातिक बढी हुने सेयर सर्वसाधारणमा परिणत गर्न सकिने बताइएको छ ।
तर, कुनै संस्थापक÷संस्थापक समूहमा रहेको सेयरधनीले माथि उल्लेख भए अनुसारको सेयरहरु अर्को समूहमा परिणत गर्न नचाहेको भनी स्वःघोषणा विवरण प्राप्त भएको अवस्था रहेछ भने बाँकी रहेका सदस्यहरुले संस्थापक÷संस्थापक समूहको सेयर स्वमित्व ५१ प्रतिशतभन्दा कम नहुने गरी त्यस्तो सेयर अनुपात उपयोग गर्न पाउने छन् । एकपटक सर्वसाधारण सेयरमा परिणत भैसकेको सेयर पुनः संस्थापक वा संस्थापक समूहको सेयरमा परिणत गर्न नपाइने राष्ट्र बैंकको भनाइ छ ।
यस सम्बन्धमा सम्बन्धित संस्थाको सञ्चालक समितिको सिफारिस सहित राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्नु पर्ने बताइएको छ । यसरी स्वीकृति प्राप्त भएपछि आगामी साधारण सभाबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरी सोही बमोजिम सेयर स्वामित्व संरचना एवम् सञ्चालक समितिमा पनि सेयर स्वामित्व अनुरुप प्रतिनिधित्व हुने गरी मिलाउनु पर्ने निर्देशनमा उल्लेख छ । सो बमोजिम
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन नभएसम्म यसरी खरिद÷बिक्री÷ परिणत हुने सेयरको अंश संस्थापक समूहमा नै रहेको मानिने बताइएको छ ।
संस्थापक समूहमा रहेको सेयर सर्वसाधारण सेयरमा परिणत गरी बिक्री गर्ने व्यक्ति÷संस्था कालोसूचीमा रहेको भएमा निजको सेयर संस्थाको कर्जा चुक्ता गर्ने प्रयोजनको लागि मात्र बिक्री गर्न पाइनेछ ।कालोसूचीमा रहे÷नरहेको व्यहोरा सम्बन्धित संस्थाले नै यकिन गर्नु पर्ने निर्देशनमा उल्लेख छ ।
यस व्यवस्था अनुरुप संस्थापक समुहको स्वामित्वमा रहेको सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने कार्य पुँजीबजार, बैंकिङ लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी एकपटकमा बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न सकिनेछ । साथै, यसरी परिणत गर्ने कार्य कम्तीमा २ पटक गर्नु पर्ने निर्देशनमा उल्लेख छ ।
संस्थामा सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहेको अवस्थामा
समेत संस्थापक समूहको सेयर यस व्यवस्था अनुरुप सर्वसाधारणमा परिणत गर्न बाधा पर्ने छैन । तर, खरिद÷बिक्री सम्बन्धी प्रक्रिया प्रचलित कानुनको अधीनमा रही गर्नु पर्ने निर्देशनमा उल्लेख छ ।
प्रतिक्रिया