‘मुन्द्रेको कमेडी क्लब’ मा दीपाश्रीको ठाउँमा करिश्मा

५ बर्ष अगाडि

कलाकार जीतु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बन्द भएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै अब यो शो पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा अपनाएर शोलाई फेरि सञ्चालनमा ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिएका छन् । शोको ४ भागको छायांकन पूरा भइसकेको छ ।
 
पहिलो सिजनमा कमेडी क्लबको अध्यक्षमा दीपाश्री निरौला थिइन् । तर, दोस्रो सिजनमा उनलाई अभिनेत्री करिश्मा मानन्धरले रिप्लेस गरेकी छन् । लकडाउनमा ठूलो विवादमा तानिएका कारण कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा दीपाश्रीलाई हटाइएको र उनको ठाउँमा करिश्मालाई चुनिएको चर्चा छ । तर, यस विषयमा टिमबाट कुनै जानकारी प्राप्त भएको छैन ।
 
करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजनमा आफूले अध्यक्षता ग्रहण गरेको बताएकी छन् । जीतु नेपालको आग्रह नकार्न नसकेर आफू शोमा आबद्ध भएको उनको भनाई छ । उनी भन्छिन्, ‘दीपाजीको विषयमा मलाई थाहा भएन । मलाई जीतु भाईले दोस्रो सिजन हो भनेर प्रस्ताव राख्नुभएको थियो । उहाँ ९जीतु नेपाल० सँग मेरो आत्मीय सम्बन्ध भएका कारण शोमा आबद्ध भएँ ।’
 
निर्देशक तथा कलाकार दीपाश्रीले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिरिजमा आफू नरहने घुमाउरो शैलीमा बताएकी छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा उनले पहिलो सिरिजमा अध्यक्षमा चुनेर रमाइलो कुर्सीमा बस्ने अवसर दिएकोमा जीतु नेपाललाई धन्यवाद दिएकी छन् । उनले निकट भविष्यमा केही फरक कार्यक्रमका साथ टेलिभिजनमा फर्किने बताएकी छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया