काठमाडौं– महानगरीय प्रहरी परिसर, काठमाडौले पनि दसैं,तिहार जस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी दसैं, तिहारलगायतका चाडपर्व लक्षित विशेष विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो । चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।
विशेष सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादासहितका प्रहरी टोली परिचालन गरेको छ । त्यसैगरी चाठबाडमा बढि भीड हुने स्थानहरु बस टिकट काउन्टर, बैंक तथा वित्तिय संस्था, ठूल्ठूला सपिङ मलहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको पनि प्रमुख लामाले बताए ।
जनताको जीउधनको सुरक्षाका लागि काठमाडौंको विभिन्न स्थानमा ६० वटा गस्ती टोली पनि परिसरले परिचालन गरेको छ । गस्ती टोलीले दसैंमा उपत्यका बाहिर जाने यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य पनि गर्नेछ ।
परिसरले दसैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन ३ हजार ५ सय ३५ जना जनशक्ति परिचालन गरेको छ । टिकट काउन्टर र काठमाडौंका मुख्यमुख्य नाकाहरुमा परिसरले पनि व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरेको छ । प्रमुख लामाले व्यक्तिको सम्पत्तिको सुरक्षा, बंैक, वित्तिय संस्थाहरुमा हुने लुटपाट नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रतिक्रिया