निर्मला हत्याकाण्ड छानबिन समितिका सदस्य बिरेन्द्र केसीमाथि आक्रमण

७ बर्ष अगाडि

काठमाडौं । निर्मला पन्तको हत्या प्रकरण अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथी धनगढीमा आक्रमण भएको छ । केसी आजमात्रै काठमाडौंबाट कैलाली पुगेका थिए ।  प्रदेश नम्बर ७ को कानुन मन्त्रालयको बा १ झ ९७०३ नम्बरको गाडीमा सवार केसीमाथि कैलालीको बोराडारीमा आक्रमण भएको हो । 

केसीका अनुसार गाडीको सीसा फुटेको छ । केसी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको छानबिन गर्न सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिका सदस्य हुन् । टोलीले केही दिनअघि मात्रै गृहमन्त्रीलाई हत्याबारे प्रतिवेदन बुझाएको थियो ।

केसीले यसअघि अनुसन्धानमा असहमति जनाउँदै राजीनामा दिएका भए पनि गृहमन्त्री रामबहादुर थापासँगको छलफलपछि काममै फर्किएका थिए । कैलालीमा प्रदेश राजधानीको माग गर्दै बन्दको आह्वान गरिएको अवस्थामा केसीमाथि आक्रमण बन्दकर्ताले गरे वा अन्य समूहले खुल्न सकेको छैन । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया