चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो ।
चितवन राष्ट्रिय निञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती सफारी, जङ्गलवाक र पक्षी दृश्यावलोकन खुला भइसकेको बताए। उनले भने, “जिप सफारीका लागि बाटो मर्मत गर्दैछौँ, दशैँअघिसम्म सञ्चालनको तयारीमा छौँ ।” उनले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेको भन्दै क्रमशः अवस्था सहज बन्दै जाने बताए।
निकुञ्जअन्तर्गतका सामुदायिक वनमा भने यसअघि नै पर्यटकीय गतिविधि खुला भइसकेका छन् । निकुञ्जले राप्ती नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का प्रक्रिया पनि अघि बढाएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए। उनले पदयात्रा मार्गको झाडी सरसफाइको काम पनि भइरहेको बताए।
असोज, कात्तिक महिना निकुञ्ज घुम्न राम्रो मौसम मानिन्छ । यस वर्ष पर्यटकीय गतिविधि शून्य छ । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले निकुञ्जले प्रवेश खुला गरेपछि पर्यटकीय क्षेत्र चलायमान हुने बताउनुभयो । उहाँले दशैँतिहारमा आन्तरिक पर्यटक आउने आशामा सौराहाका व्यवसायी रहेको जानकारी दिनुभयो । सौराहामा छुटलगायतका प्याकेजका कार्यक्रम पनि घोषणा भएको उनले बताए।
गत वर्ष एक लाख ८२ हजार ४३५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए । यसमध्ये ८९ हजार ४४१ नेपाली, १४ हजार २३९ सार्क राष्ट्रका र ७८ हजार ७५५ जना अन्य देशका थिए । गत वर्ष पर्यटनबाट मात्र रु १९ करोड ९२ लाख ५५ हजार ६८१ कमाएको निकुञ्जको यस वर्ष आम्दानी शून्य छ ।
निकुञ्जले पर्यटक प्रवेश शुल्क र डुङ्गा शयरको बोलपत्रमार्फत राजश्व सङ्कलन गर्ने गरेको छ । विसं २०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यको निकुञ्ज हो ।
प्रतिक्रिया