निर्मलाका बाबु डीएनए रिपोर्टले फायर, अब के हुन्छ यो प्रकरण ?

७ बर्ष अगाडि

काठमाडौं– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि निर्मलाका बाबु यज्ञराज पन्तले घट्नाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको प्रतिकृया दिएका छन् । 

‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर टेष्ट गर्नुर्ने मैले काठमाडौमा मन्त्रीलाई नै भनेको हुँ । तर, मेरो कुरा सुनिएन । आखिर मैले जे सोचेको थियो रिपोर्ट त्यहि आयो’ निर्मलाका बाबु यज्ञराजले भने, ‘अव त सरकारले न्याय देला भन्ने लाग्नै छोड्यो ।’ 

यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले जेजति गरेको देखाएपनि त्यो सवै आँखामा छारो हाल्न मात्र गरेको बताए । ‘हामीले घटनाको सुरुवात कहाँबाट भएको र को को मानिस जोडिएका छन् भनेर पहिलेदेखि नै भनेका हौ । तर हामीलाई आशंका लागेका व्यक्तिहरुमाथि गहिरो अनुसन्धान नै गरिएन’ उनले बम दिदीबहिनीप्रति संकेत गर्दै भने, ‘प्रमाणहरु नष्ट गरिएको छ । निर्मलाका लुगा अझै भेटिएका छैनन्, पोष्टमार्टम गर्ने डाक्टरहरुलाई नै खेदिएको छ । यस्तो सरकारले कसरी तथ्य सार्वजनिक गर्छ र हामीले न्याय पाउछौ ?’ उनले भावुक हुदै भने ।

बम दिदी बहिनीको घरमा अझै खनतलासी नगरिएको भन्दै उनीहरुलाई पनि अनुसन्धानका नाममा बोलाएर त्यसै छाडिएको यज्ञराजले गुनासो गरे । 

निर्मला पन्तको गत साउन १० गते साथी रोसनी बमको घरमा गएको वेला बलात्कारपछि हत्या भएको थियो । ११ गते उनको शव उखुबारीमा भेटिएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया