क्वालालम्पुर– नेपालसित ‘शून्य लागत’ मा कामदार लिन मलेसिया सहमत भएको छ । श्रम सम्झौताको मस्यौदा टुंगो लगाउन दुई देशका अधिकारीबीच क्वालालम्पुरमा शुक्रबार भएको वार्तामा मलेसियाले त्यस्तो सहमति जनाएको हो ।
औपचारिक श्रम सम्बन्ध सुरु भएको करिब १७ वर्षपछि श्रम सम्झौताको मस्यौदाले अन्तिम रूप पाएको छ । दुई देशबीच तीनपटकसम्म आदानप्रदान भइसकेको प्रस्तावित मस्यौदा ८ घण्टा लामो छलफलपछि अन्तिम टुंगो लगाइएको हो ।
नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार अब यथाशक्य चाँडो श्रम सम्झौताको मिति तय गरी हस्ताक्षर हुनेछ । श्रम सम्झौतापछि नेपालले मलेसियामा कामदार पठाउन सुरु गर्नेछ । मस्यौदामा कामदारका हितमा सामाजिक सुरक्षा, स्वास्थ्यलगायत विषय समावेश गरिएको खरेलले जनाए ।
मलेसिया आउने नेपाली कामदारमाथि यसअघि लादिएको आर्थिक भार अब अधिकांश हट्ने उनको भनाइ छ । कामदार मलेसिया आउँदा लाग्ने हवाई टिकट, भिसा शुल्क र स्वास्थ्य परीक्षणलगायत खर्च पनि मलेसियाली रोजगारदाताले नै बेहोर्ने विषय मस्यौदामा समावेश गरिएको छ ।
खरेलले चौबीसै घण्टा बिमाको व्यवस्था गर्ने विषय भने मस्यौदामा समावेश हुन नसकेको जानकारी दिए । ‘अन्य मुलुकका कामदार पनि रहेको र मलेसिया कामदारको बिमासम्बन्धी नीतिमा परिमार्जन गर्ने क्रममा रहेकाले त्यो विषय अहिलेलाई समावेश गर्न सकिएन,’ उनले भने । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया