काठमाडौं–त्रिभुवन विमानस्थलमा बिहीबार एकै दिन ५ वटा शव आइपुगे । चारवटा मलेसियाबाट आएका थिए भने एउटा कतारबाट । वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी ५ मध्ये एक जना थिए, आइतसिंह गोले ।
मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ नेपालीमध्ये आइतसिंह एक थिए । ८ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि डोल्मामाया गोले आफैं ४ वर्षअघि त्यहाँ गएकी थिइन् । हिरापुर–९ सर्लाहीका आइतसिंह अवैध कामदारका रूपमा बसेका थिए भने डोल्मा वैध बाटोबाट गएकी थिइन् । केहीअघि नेपाल फर्किएकी डोल्मा एक महिनाअघि फेरि मलेसिया पुगेकी थिइन् ।
‘आइतबार बिदाको दिन थियो । बाहिरै मदिरा पिएर बेलुका कोठामा आउनुभएको थियो । त्यो दिन खासै केही भएन,’ त्रिभुवन विमानस्थलमा डोल्माले भनिन्, ‘सोमबार ड्युटी गएर फर्किनुभएको थियो । म ड्युटीबाट कोठामा आउँदा एकदमै स्याँस्याँ गरिराख्नुभएको रहेछ । मैले औषधि लिएर आए । तुरुन्तै अस्पताल लिएर जाने अवस्था थिएन । अवैध रूपमा बसिरहेकाले उहाँ पनि जान मान्नुभएन । विषालु मदिरा शरीरमा फैलिँदै गएछ । मंगलबार बिहान म ड्युटी गएँ । कोठाबाट ५ मिनेटमा हिँडेर कम्पनी पुगिन्थ्यो । उहाँ आराम गर्छु भन्दै कोठामै बस्नुभयो । दिउँसो आँखा देख्न छोड्नुभएछ । दम पनि बढेछ । छिमेकी भाइले फोन गरेर बोलाएपछि म गएँ । उहाँ निकै गलिसक्नुभएको थियो । नजिकैको क्लिनिकमा लिएर गएँ । क्लिनिकले एम्बुलेन्स बोलाएर अस्पताल पठाइदियो । अस्पताल पुग्दा उहाँको ज्यान गइसकेको थियो ।’
आइतसिंह आफू गएको कम्पनी छाडेर बसेका थिए । उनले घरमा नियमित पैसा पठाउन पनि छोडेका थिए । उनीहरूका तीन छोराछारी छन् । ‘पतिले पैसा नपठाएपछि उनीहरूलाई हुर्काउन, पढाउन गाह्रो भयो, उहाँले धेरै रक्सी खान थाल्नु भएछ । थाहा पाएपछि बच्चाहरूलाई बहिनीको जिम्मा लगाएर श्रीमान्लाई सपार्न र फर्काउन आफैं मलेसिया गएँ,’ डोल्माले भनिन्, ‘रक्सी खान कम भइसकेको थियो । कहाँबाट विषाक्त रक्सी भेट्नुभयो, थाहै भएन ।’
कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
प्रतिक्रिया