मुसिकोट– पूर्वगृहमन्त्री जनार्दन शर्माले आठविसकोट नगरपालिकामा २५ श्ययाको नगर अस्पताल आज एक समारोहबीच उद्घाटन गरेका छन् ।
साबिक आठविसकोट स्वास्थ्य चौकीको भवन र दीपज्योति आधारभूत विद्यालयको भवनमा सो अस्पताल सञ्चालन गरिएको छ । अस्पतालको निर्माण तथा सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएपछि गत ७ गतेदेखि अस्पतालले सेवा शुरु गरेको थियो ।
अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डाक्टर दिलसाही रोकालाई यहाँ पठाइएको अस्पतालले जनाएको छ ।
आठविसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गर्दै नगरपालिकाले नगर अस्पताल सञ्चालन ल्याएको हो । नगर अस्पताल सञ्चालनका लागि नगरपालिकाले गत आर्थिक वर्षको ८० लाख र चालू आवको ४० लाख गरी कूल एक करोड २० लाख लगानीमा अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालबाट एक्सरे, ल्याबटेस्ट, फार्मेसी, प्रसूति, इसिजीलगायत सेवा उपलब्ध हुने बताइएको छ ।
सो अवसरमा पूर्वगृहमन्त्री जनार्दन शर्माले स्वास्थ्य सेवा जनताको पहिलो प्राथमिकतामा पर्ने भएकाले जनतामा यसको सहज पहुँच स्थापित गरी गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउनका लागि अस्पताल लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया