मलेसियामा ९ नेपालीको मृत्यु प्रकरणः शव नेपाल ल्याइँदै

७ बर्ष अगाडि

काठमाडौँ– विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिं गोलेको शवको बिहीबार नै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ । सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल ल्याइसकिएको बताइएको छ । 

रुपन्देहीका रामकुमार यादवको शव आज राति नेपाल ल्याइँदैछ । थाई एयरलाइन्सको नियमित उडानबाट यादवको शव नेपाल ल्याइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । 

त्यस्तै सर्लाहीका शेरबहादुर ठकुरीको शव शनिबार नेपाल ल्याइने बोर्डले जनाएको छ । बोर्डका अनुसार यही असोज १४ गते भीमबहादुर घले, १६ गते विशाल बुढाथोकी, १७ गते सुकुवल घिसिङ र १८ गते विमल कार्कीको शव नेपाल ल्याइनेछ । 

शव घरसम्म पु¥याउनका लागि सम्पूर्ण व्यवस्था बोर्डले नै गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए । उनले भने, “बोर्डले श्रम अवधिभित्रै मृत्यु भएका कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घरसम्म पु¥याउनका लागि गाडीको व्यवस्था गर्दै आएको छ, सोही बमोजिम मृतकका शव ढुवानीको व्यवस्था गरेका छौँ ।” 

मृतकमध्ये ठकुरी र गोले गैरकानूनी रुपमा नौ वर्षदेखि मलेशियामा बसोबास गर्दै आएको देखिएको जानकारी दिँदै उनले विशेष परिस्थितिका कारण मृत्युवरण गर्नुपरेकाले उनीहरुको शव सम्बन्धित स्थानमा पु¥याउन बोर्डले सहयोग गर्ने बताए । 

यसैबीच, श्रम अवधिभित्रै मृत्यु भएका व्यक्तिका परिवारले आर्थिक सहायता प्राप्त गर्नसक्ने बोर्डले जनाएको छ ।
 उनीहरुले राहतस्वरुप रु सात लाख र बीमाबापत रु १२ लाख प्राप्त गर्ने छन् । मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट नौ नेपालीको मृत्यु भएको थियो भने १० जना गम्भीर बिरामी परेका थिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया