काठमाडौं उपत्यकामा आजदेखि निजी र सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने आदेश जारी गरेका हुन् ।
जारी आदेश अनुसार ट्याक्सीमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्ष मुनिका बालबालिका २ जना मात्र बस्न पाइनेछ ।
सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।
सार्वजनिक सवारीमा चालक, सहचालक तथा यात्रुहरुले मास्क अनिवार्य लगाउनुपर्ने, सवारी साधनको ढोकामै स्यानीटाइजर राख्नुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र सवारी साधन दैनिक रुपमा निसंक्रमित गरिएको हुनुपर्ने भनिएको छ ।
निजि सवारी साधानहरु (मोटरसाइकल र स्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने तथा भौतिक दूरी कायम गर्ने गराउने गरी सञ्चालन गर्न पाइने छ ।
सार्वजनिक र निजी सवारी साधानहरु जोर बिजोर प्रणालीमा सञ्चालन हुने भएपनि मालबाहक ढुवानीका साधनहरुमा भने जोर विजोर प्रणाली लागु हुने छैन ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भदौ ४ गतेदेखि लगातार दुई हप्ता अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएको काठमाडौं उपत्यकामा भदौ १७ गतेदेखि २४ गतेसम्म भने टेक अवे, होम डेलिभरी र निर्माण सामग्रीका पसल पनि सञ्चालन गर्न दिइएको थियो ।
प्रतिक्रिया