नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । कारोबार शुरु हुँदा १४९८.२६ को विन्दुबाट शुरु भएको नेप्से १३.०५ अंकले बढेर १५०८.२० विन्दुमा पुगेको हो ।
नेप्से सूचकमा सुधार हुँदा सेयर बजारमा उत्साह देखिनुका साथै खरिदबिक्री रकममा नयाँ माहोल पैदा भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताका कारण बैंकको ब्याजदर घट्दोक्रममा देखिएपछि सेयर बजारलाई सहयोग गरिरहेको जानकारहरु बताउँछन् ।
यस दिन १९४ वटा कम्पनीको ५७ लाख ९८ हजार कित्ता शेयर २ अर्ब २६ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो दिन मंगलबार १ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम ४७ करोड रुपैयाँले बढेको छ।
बुधबार कारोबारमा आएका १२ वटा उपसमुहमध्ये वाणिज्य बैंक र विकास बैंक उपसमूह बाहेक बाँकी १० वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २२ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नागरिक लगानी कोषको १८ करोड ६४ लाख, शिवम् सिमेन्टको १२ करोड ६३ लाख, सुर्या लाइफ इन्स्योरेन्सको १२ करोड ३६ लाख र नेको इन्स्योरेन्सको १२ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीहरुमध्ये १०४ वटा कम्पनीको शेयरमुल्य बढेको छ जसमा तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। बुधबार राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य बढेको छ ।
राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९८८ रुपैयाँले बढेर १० हजार ८६८ रुपैयाँ पुगेको छ। त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत र आरम्भ चौतारीको ९.३१ प्रतिशतले बढेको हो।
यता, एनआरएन इन्फ्रास्टक्चरको शेयमूल्यमा भने बुधबारपनि नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमुल्य ९.९२ प्रतिशतले घटेर ३५४ रुपैयाँमा झरेको छ भने कालिका पावरको ४.८० प्रतिशत, अरुण कावेलीको ४.१७ प्रतिशत, युनिभर्सल पावरको ३.०९ प्रतिशतले घटेको छ।
प्रतिक्रिया