काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागितामा वेबिनारमार्पmत उक्त कार्यक्रम गरेका हुन् ।
उक्त वेबिनारलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कोभिड–१९ को संक्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसंग संवन्धित परिसूचकहरु सकारात्मक रहेका धारणा राखे । गभर्नर अधिकारीले निर्यातको स्थिरता, आयातमा भएको व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधनान्तर स्थिति रु.२८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिति रु.१४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको बताए ।
यस्तै, भदौ २१ सम्म बैंक तथा वित्तिय संस्थामा कुल रु.३९ खर्ब ३८ अर्ब निक्षेप र ती संस्थाबाट रु.३२ खर्ब ५५ अर्ब कर्जा प्रवाह भएको बताए । उनले पछिल्लो समय कर्जा स्रोत परिचालन अनुपात ७२ प्रतिशत रहनुले लगानीका लागि पर्याप्त साधन उपलव्ध भएको तथा बैकिंङ क्षेत्रको पुंजी पर्याप्तता अनुपात १५ प्रतिशत र खराब कर्जा अनुपात १.८ प्रतिशत रहेका कारण वित्तीय क्षत्र स्थायित्व कायम रहेको भएतापनि कोभिड संक्रमणका कारण वित्तीय क्षेत्रमा परेको दवावलाई यथार्थरुपमा परिसूचकमा प्रतिविम्वित गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुमा रहेको बताए ।
गभर्नर अधिकारीले केही महिनादेखि करिब रु.दुई खर्बको हाराहारीमा रहेको तरलतालाई अवसरका रुपमा लिन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई आग्रह गरे ।
ृउनले अहिलेको कठिन परिस्थितिमा आफ्नो कर्जा स्रोतको व्यवस्थापन संयमित एवम् जिम्मेवारपूर्ण ढंगले गर्ने र कर्जा खोसाखोसको अस्वस्थ प्रतिस्पर्धा मार्फत नाफा केन्द्रित हुने भन्दा पनि आपूm पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिए ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरुसँग अधिक तरलता रहेको र यस्लाई समस्या भन्दा पनि सहजताको सूचकको रुपमा लिनुपर्ने कुरामा जोड दिदै तरलता बढेको अवस्थामा कर्जा दुरुपयोग हुनसक्नेतर्फ संकेत गर्दै गभर्नर अधिकारीले यस विषयमा सजग रहनु पर्ने विचार व्यक्त गरे ।
पुनरकर्जाको लागि आवेदन लिन बैंक तथा वित्तीय संस्थाहरुले आनाकानी गरिरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाप्रति जिम्मेवार रहन
समेत संवन्धित सवैलाई आग्रह गरे ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो । सो अवसरमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकाल र नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कोभिड–१९ को महामारीबाट वित्तीय क्षेत्र पनि प्रभावित भएको उल्लेख गर्दै वित्तीय संस्थालाई बचाउन राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठलगायत बैंकका विभिन्न विभागका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया