हिसिला यमीलाई एसियाकै भ्रष्ट महिला भन्ने पत्रकारले तिरे क्षतिपूर्ति, प्रतीक प्रधानको लेखपनि हावादारी

५ बर्ष अगाडि

२०७० जेठमा क्राइम टुडे नामक पत्रिकाले लेखेको एउटा समाचारले खुबै चर्चा पायो ‘एमाओवादी नेतृ यमि दक्षिण एसियाकै भ्रष्टाचारी महिला’ । 

त्यसबेला दोश्रो संविधानसभाको चुनावको चर्चा थियो, त्यसैले उक्त पत्रिकाबाट धेरैले साभार गरेर सामाजिक सञ्जाल तथा अनलाइनहरुमा पनि उक्त समाचार प्रकाशन गरे । 

त्यसमध्येका एक थिए नागरिक दैनिकका पूर्व सम्पादक प्रतीक प्रधान । ९ मंसिर २०७० मा उनले नागरिक दैनिकमा ‘जनता मनन गर्छन्’ शिर्षकको लेखमा ‘अमेरिकी प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले हिसिला यमीलाई दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ भनेर लेखिदिएर पनि जनता बीचमा ठूलो असर परेको देखिन्छ।’ भन्ने कुरा लेखेका थिए । 

पूर्व प्रधानमन्त्री पत्नि तथा तत्कालिन एमाओवादीकी नेतृको भ्रष्टाचार आएपछि त्यसकैका आधारमा कतिले लेख लेखे, कतिले सरापे, समाचार लाई धेरैले भाइरल नै बनाए । तर क्राइम टुडेले शुरुमा लेखेको उक्त समाचार गलत र इज्जतमा धक्का पुर्‍याउने नियतले समाचार प्रकाशन गरेको पुष्टि भएको भन्दै काठमाडौँ जिल्ला अदालतले उनीहरुलाई जरिवाना तथा क्षतिपूर्ति भराएकाे खुलेको छ । 

२०७१ असोज ३० गते नै  न्यायाधीश इन्द्रबहादुर कार्कीको एकल इजलासले पत्रिका र त्यसका पत्रकारलाई गाली बेइज्जती गरेको ठहर गर्दै क्षतिपूर्ति भराउने आदेश दिएपनि उक्त समाचार भने कसैले लेखेनन्।

हिसिला यमिले ‘विपक्षी सम्पादक प्रकाशक आफैले मिथ्यापूर्ण समाचार तयार गरेको भन्दै क्राइम टुडेका प्रबन्ध निर्देशक रत्नमाया (आरएम) लामा, सम्पादक एफ.आर. दाहाल, सम्पादक/प्रकाशक एल.एस. लामा र समाचार छाप्ने इन्द्रेणी अफसेट प्रेस समेतलाई विपक्षी बनाई गाली बेइज्जती ऐन अनुसार मुद्दा दायर गरेकी थिइन्। अदालतका अनुसार उनीहरु सबै कारवाहीको भागीदार भएका छन् । 

अहिलेमात्र नेपालको पहिलो ब्लग माइसंसार डट कमले न्युयोर्क टाइम्सको समाचार र सर्वोच्वको फैसला सहित यसको खुलासा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ भदौ २०७७ सोमबार बिहान आफ्नो​ फेसबुकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘‘न्यूयोर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर लेखेको भन्दै प्रसंग जोडेपछि माइसंसारले फ्याक्ट चेक गरेर यो कुरा खुलासा गरेको हो ।

न्युयोर्क टाइम्समा ६ नोभेम्बर, २०१३ मा In Fractured Nepal, Plans for National Elections Provide a Series of Subplots शीर्षकमा एउटा समाचार छापिएको छ। जसको सुरुवातमै हिसिला यमीको प्रसंग  यस्तो छ – “यदि तपाईले अखबार पढ्नुभयो भने तपाईले सोच्नु हुन्छ कि म नेपालमा सबभन्दा भ्रष्ट महिला हुँ,” माओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी श्रीमती हिसिला यमीले भनिन्। 

समाचारमा हिसिलाले आफ्नो लुकाइएको सम्पतिबारेका समाचारहरु हल्लामात्रै रहेको भन्दै खण्डन गरेकी छिन्।

अंग्रेजीमा लेखिएकोले कतिपयले नबुझेर र कतिले नेपालीहरुले अँग्रेजी समाचार पढ्दैनन भन्ठानेर यहि कुरालाई बंग्याएर गलत हल्ला चलाएका थिए । हुनपनि भ्रमको खेती गर्नेहरुको आँकलन जस्तै अहिलेसम्म अधिकाँस नेपालीले न न्यूयोर्क टाइम्सको उक्त समाचारमा के थियो भनेर पढ्ने र सार्वजनिक गर्ने चेष्टा गरे न त हल्लालाई गलत भने । 

अँग्रेजी नबुझेर वा शिर्षक अतिरञ्जित बनाउन पत्रिकाको नाममा थापेको खुद्रा पसलेले यस्तो गर्नु त सामान्य कुरा हो । यसको कारबाहीको भागिदार उनी भए । तर त्यसताकाको चर्चित दैनिक पत्रिका रहेको नागरिक दैनिकका तत्कालीन प्रधान सम्पादक प्रतीक प्रधानले हचुवाको भरमा ‘अमेरिकी प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले हिसिला यमीलाई दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ भनेर लेखिदिएको...’ भन्दै लेख्नुलाई के भन्ने ? 

आज सत्यतथ्य खुलेपछि त्यस्ता हौवाका आधारमा गलत तथ्य राखेर लेख लेख्ने पत्रकारको विश्वास आम पाठकले कसरी गर्ने ? 

समाचारमा राखिएको हिसिला यमिको भनाईलाई गलत रुपमा उद्‍धृत गर्ने र गलत समाचार/लेख्ने कार्यले पत्रकारहरुले नेपाली समाज कता पु¥याउँदैछन भन्ने चिन्ता थपिएको जानकारहरु बताउँछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया