कोरोना बीमा विवादः अन्तत निजी प्रयोगशालाको पीसीआर रिपोर्टलाई मान्यता दिने तयारीमा बीमा समिति

५ बर्ष अगाडि

काठमाडौं – अन्तत बीमा समिति निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्टलाई बीमा दावीयोग्य मान्यता दिने बिषयमा लचिलो भएको छ । गत हप्ता निजी प्रयोगशालामा कोरोना परिक्षण गरेका बीमितलाई दावी भुक्तानी नदिनु भन्दै समितिले बीमा कम्पनीहरुलाई पत्रचार गरेको थियो ।
समितिले आइतबार सरोकारवालाहरुसँग छलफल गरेर निजी प्रयोगशालाबाट परिक्षण भइ दावी प्राप्त आवेदन माथि छानविन गर्न कार्यकारी निर्देशक राजु रमण पौडेलको सयोजकत्वमा कार्यदल गठन गरेको छ । अब निजी प्रयोगशालाबाट पनि आएका रिपोर्टहरुको आवश्यक अध्ययन गरेर दावी भुक्तानी दिने बिषयमा निर्णय गरिने बताइएको छ । 

भदौ २१ गते निजी प्रयोगशालामा परीक्षण भई प्राप्त दाबीहरूका विषयमा छानविन गर्न समितिले कार्यदल बनाएको हो । यसमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलेको संयोजकत्वमाबनाइएको समितिकोे सुझावका आधारमा यस विषयमा निर्णय गरिने समितिले बताएको छ । सो समितिमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमक संघको प्रतिनिधित्व रहेको छ ।
यस्तै, अब निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने गरि कोरोना बीमा मापदण्डलाई पनि संसोधन गरिने बताइएको छ । यसका लागि पनि कार्यकारी निर्देशक पौडेलको सयोजकत्वमा समिति गठन गरिएको छ । त्यसबाहेक समितिले आइतवारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका प्रयोगशाला परीक्षण भई प्राप्त दाबीहरूलाई भने तत्काल भुक्तानी दिन कम्पनीहरुलाई निर्देशन दिएको छ । 
साथै, समितिले हाललाई बीमितहरुलाई सरकारी प्रयोगशालामा नै परिक्षण गराउन आग्रह गरेको छ । यसका लागि मन्त्रालयसँग समितिले सहकार्य गर्ने बताएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया