बीमा समिति भित्रको राजनीतिः आफु विरुद्धका कर्मचारीलाई जिम्मेवारीबाट हटाउँदै अध्यक्ष

५ बर्ष अगाडि

काठमाडौं - बीमा समितिका कर्मचारीहरुले अध्यक्ष चिरञ्जीवी चापागाईले कर्मचारी माथि ज्यादति गरेको आरोप लगाएका छन् । आफनो विरुद्ध जाने कर्मचारी तथा आफनो राजनीतिक धार नमिल्ने कर्मचारीलाई जिम्मेवारी विहीन बनाउँने देखि लिएर शाखा सरुवा गर्न थालेका छन् । अध्यक्षले यस्तो गतिविधिले समितिका कर्मचारीले मानसिक तनाब खेप्नुको साथै समितिकै कर्मचारी बिच फाटो बढेको छ । 
राष्ट्र बैकको पोखरा शाखाका क्षेत्रिय निर्देशक चापागाईले २०७३ पुसमा बिमा समितिको अध्यक्षमा नियुक्त भएका थिए । नियुक्त भए लगत्तै उनले कर्मचारी प्रति विभेद सुरु गरेको समिति स्रोतले बताएको छ । 

अभिकर्ताको उजुरी दर्ता गराएको निहुँमा भट्टलाई जिम्मेवारीबाट हटाईयो
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बुधबार उजुरी शाखा प्रमुख विरोध भट्टलाई जिम्मेवारीबाट हटाएका छन् । आफु निकट अभिकर्ता र कम्पनीका कर्मचारीको विरुद्धमा उजुरी दर्ता गरेपछि अध्यक्ष चापागाईले उनलाई बुधबार देखी लागू हुने गरी जिम्मेवारीबाट हटाएका हुन् । भट्टले अध्यक्षको आदेश विपरित गएर अभिकर्ताले उजुरी दर्ता गराएका थिए । यही बहानामा उनलाई उजुरी प्रमुखबाट हटाएर उजुरी हेर्न नपाउँने गरी कानुन शाखामा सारिएको छ । 
अघिल्लो साता नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरु लिलाधर घिमिरे, एजेन्सी म्यानेजर बिना बेल्बासे र निमा शेर्पाले कम्पनीका शाखा कार्यलय प्रमुख र सिनियर अभिकर्ताको विरुद्धमा समितिका उजुरी दर्ता गरेका थिए । सो उजुरीका बिषयमा अध्यक्ष चासो देखाएका थिए । प्रमुख भट्टले सो उजुरी नै दर्ता नगर्न भनेका थिए । तर, भट्टले आएको उजुरी लिनुपर्ने भन्दै उजुरी दर्ता गराए पछि उनलाई जिम्मेवारीबाट हटाईएको बिमा समिति स्रोतले बताएको छ ।
बिना आधार एक आर्थिक बर्ष पनि पुरा नहुँदै कर्मचारी सरुवा गरेकोमा बिमा समिति कर्मचारील युनियनले विरोध गरेको छ । युनियनले अध्यक्षलाई पत्राचार गरी सरुवा प्रति असहमती जनाएको छ । कर्मचारी सरुवा गर्दा कारण हुनुपर्ने र सरुवा नीति बनाएर मात्रै सरुवा गर्नुपर्ने प्रावधान छ । तर, अध्यक्षले कारण बिना जथाभावी सरुवा गरेको कर्मचारी युनियनका अध्यक्ष पूर्ण थापाले बताए । “सम्बन्धित क्षेत्रमा विज्ञता भएका व्यक्तिलाई अन्यत्र सरुवा गर्दा, एक बर्ष भित्र बारम्बार विभेदकारी रुपमा सरुवा गर्दा कर्मचारीको मनोबल गिर्न गई उत्पादकत्वमा कमी समेत कमी आउँनेछ,” उनले भने । 
मन नपरेका कर्मचारीलाई जिम्मेवारी नै पाउँदैनन
बीमा समितिमा अध्यक्षले मन नपराइएका कर्मचारीले कुनै पनि जिम्मेवारी नदिने गरेको पाईएको छ । समितिका अध्यक्षले निर्देशक कमल प्रसाद रेग्मी र उप निर्देशक केवश प्रसाद दाहाललाई अहिले सामान्य जिम्मेवारी दिएर राखेको बीमा समिति स्रोतको दाबी छ । करिब दुई बर्ष अगाडी समितिले गाडी खरिद गरेको थियो । गाडी खरिद प्रक्रियमा अध्यक्षको इच्छा अनुसार निर्देशक कमल प्रसाद रेग्मीले सहमती नजनाए पछि उनलाई समितिले लामो समयसम्म जिम्मेवारी विहिन बनाएको थियो । निर्देशक रेग्मी केवल कार्यलय जाने र आउँने मात्रै गर्दथे । उनले कार्यलयमा पाउँने कतिपय सामान्य सुविधा समेत कटौती गरिएको स्रोतको दाबी छ । अहिले उनलाई अभिकर्ता र सर्भेयरको मात्रै जिम्मेवारी दिईएको छ ।
त्यस्तै, लेखा शाखाका प्रमुख उप निर्देशक केवश प्रसाद दाहाललाई समेत जिम्मेवारीबाट हटाईएको छ । मनमुटावको कारण अध्यक्ष चापागाईले उनलाई लेखा शाखाको बेरुजू पछ्यौटको मात्रै जिम्मेवारी दिएर राखेका छन् । यस अघि उनले लेखा शाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए । 
विभेदकारी रुपमा कर्मचारीको सरुवा
समितिका अध्यक्ष चापागाईले आफु विरुद्ध जाने कर्मचारीलाई विभेदकारी रुपमा छोटो समयमा नै शाखा परिवर्तन गराउँदै आएका छन् । समितिका उप निर्देशक कुन्दन सापकोटा, उप निर्देशक पूर्ण थापा, सहायक निर्देशक शम्भु मित्र यो समस्याबाट पिडित छन् । समितिका कुन्दन सापकोटा यस अघि कृषि तथा लघुबिमा शाखा प्रमुख थिए । अघिल्लो बर्ष समितिले आन्तरिक बढुवाका क्रममा आवेदन खुलाएको थियो । बर्षको आधारमा सापकोटा बढुवाका दावेदार भए पनि उनलाई बढुवा गरिएन । अध्यक्षको सामु नझुकेक सापकोटालाई अध्यक्षले बढुवाबाट मात्रै बच्चित गराएनन् जिम्मेवारीबाट समेत हटाए । उनलाई कारण बिना नै कृषि र लघुबीमा शाखाबाट हटाएर पोलिसी मूल्यांकन शाखामा सारियो । त्यहाँ पनि उनलाई लामो समय काम गर्न दिईएन । अहिले फेरी उनलाई एमआईएस शाखामा सारिएको छ । 
त्यस्तै, समितिको सहायक निर्देशक पूर्ण थापा पनि अध्यक्षको आँखाको तारो बनेका छन् । थापा समितिको कर्मचारी युनियनमा सक्रिय छ । त्यसैले पनि उनी अध्यक्षको नजरमा परि रहेका छन् । अध्यक्ष चापागाई नियुक्त हुनु अगाडी थापा समितिको तथ्यांक शाखामा थिए । चापागाई समितिमा नियुक्ती भएपछि उनलाई बीमा पोलिसी मूल्यांकन शाखामा सारिए । अहिले फेरी उनलाई एमआईएस शाखामा सारिएको छ । 
त्यस्तै, सहायक निर्देशक शम्भु मिश्र अध्यक्ष नियुक्ती हुनु अगाडी सर्भेयर तालिमको जिम्मेवारी दिईएको थियो । अध्यक्ष नियुक्ती भएपछि उनलाई प्रशासनमा सारियो । अहिले फेरी उनलाई नियमन शाखामा सारिएको छ ।
छुटटै कर्मचारी संगठन स्थापना अध्यक्ष सहयोग
बीमा समिति अध्यक्ष चापागाईले कर्मचारी संगठन भित्र समेत प्रवेश गरी दुई वटा संगठनमा विभाजन गरिदिएका छन् । यस अघि समितिका बीमा समित कर्मचारी युनियन थियो । युनियनमा सबै कर्मचारी सन्तुष्ट नै थिए । अध्यक्ष चापागाईको नियुक्त हुँदा युनियनको अध्यक्षमा सहायक निर्देशक पद्म प्रसाद सोडारी अध्यक्ष थिए । गत मंसिरमा उनको कार्यलय सकियो । युनियनको चुनावमा समितिका सहायक निर्देशक पूर्ण थापा अध्यक्ष भए । तर, लामो समयसम्म पनि अघिल्लो नेतृत्वले पछिल्लो नेतृत्वलाई अधिकार हस्तान्तरण गरेन । त्यतिमात्रै हैन गत असारमा अध्यक्षको सहयोगमा अर्को कर्मचारी संगठन समेत खोलियो । संगठनको सदस्यको बन्नका लागि समितिका अध्यक्ष चापागाईले समितिका प्रत्येक कर्मचारीलाई व्यक्तिगत रुपमा भेटेर हस्ताक्षर समेत गर्न लगाएको समिति स्रोतले बताएको छ । स्रोतका अनुसार संगठनको संयोजनका रुपमा अध्यक्ष निकट पद्म प्रसाद सोडारी छन् । अध्यक्ष चापागाईले कर्मचारीका लागि छुटटाईएको बजेट समेत विभाजन गरिदिएका छन् । 
 

कर्मचारीलाई माग अनुसार सरुवा गरिएको हो
चिरञ्जीवी चापागाईले 
अध्यक्ष,बीमा समिति

मैले कुनै पनि कर्मचारी दुई बर्ष पुरा नभई सरुवा गरेको छैन । कर्मचारीहरुले अनुभवका लागि विभिन्न शाखामा सारिनुपर्छ भन्ने आवाज आएकाले सारिएको हो । मैले नयाँ पद सृजना पनि गरेको छैन । सरुवा नीतिको हकमा राष्ट्र बैकले पनि सरुवा गर्छ । तर, सरुवा नीति छैन । आरोप त सबैले लगाउँछन । तर, यसमा कुनै सत्यता छैन । कर्मचारी संगठन खोल्ने हकमा सबैले कर्मचारीले आफनो इच्छा अनुसार संगठन खोल्न पाउँछन् । यसमा मैले कहिल्यै हस्तक्षेप गरेको छैन ।
 

कारण बिना नै कर्मचारीको सरुवा गरियो
पूर्ण थापा
अध्यक्ष, बिमा समिति कर्मचारी युनियन
कर्मचारी सरुवा गर्दा कारण हुनुपर्छ । सरुवा नीति हुनुपर्छ । एक बर्ष पुरा नहुँदै कर्मचारीलाई सरुवा गरि रहँदा उत्पादकत्वमा कमी आउँछ । अहिले बीमा समितिले त्यही भएको छ । हामीले समितिका अध्यक्ष चिरञ्जीव चापागाईले बारम्बार भन्दै आएका छौ । कर्मचारी सरुवा गरिदा कारण दिनुहोस र सरुवा नीति बनाएर सरुवा गर्नुहोस । तर, त्यो अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन ।

इस्योरेन्स पत्रकार व्यूरोको सहयोगमा 

५ बर्ष अगाडि

प्रतिक्रिया