प्रदेश नं. ५ मा मुलुकमै पहिलो पटक प्रदेश लोकसेवा आयोगले कर्मचारी छनौट प्रक्रिया शुरु गरेको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक तर्फका केही पदमा स्थायीपूर्तिका लागि स्वीकृति दिएसँगै स्विकृति दिएसँगै लोक सेवाले औपचारिक रुपमा कर्मचारी छनोट गर्न थालेको हो ।
प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतमले खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोटका लागि आयोग तयारीमा रहेको बताए।
‘हामीले सबै कानुनी प्रक्रिया पुरा गरेका छौं’, उनले भने, ‘अब छिट्टै खुला प्रतिस्पर्धाका लागि सूचना प्रकाशित हुन्छ।’
उनका अनुसार प्रदेश निजामती सेवामा पहिलो पटक इन्जिनियरिङ तर्फको सातौं तह र स्वास्थ्यतर्फको सातौं र आठौं तहमा १२५ जना खुला आवेदन गर्ने तयारी गरेको छ ।
जसमध्ये इन्जिनियरिङतर्फका ५३ र स्वास्थ्यतर्फका ७२ पदमा आवेदन खुल्ने छ । प्रदेशबाट हुने आवेदनमा सबैको सहजताका लागि अनलाइनबाट दरखास्त लिने तयारी भइरहेको देशैभरका नेपाली नागरिकले दरखास्त दिन सक्ने बताइएको छ ।
प्रदेश लोकसेवा आयोगका प्रवक्ता सूर्य भुसालका अनुसार संघीय लोकसेवाकै पाठ्यक्रममा आधारित रहेर प्रदेश पाठ्यक्रम निर्माण गरिएको छ। लोकसेवाले आयोगको नियमावली, खर्च आम्दानी मापदण्ड, बैठक कार्यविधि तयार गरिसकेको छ।
आयोगले काम सूचारुका लागि आवश्यक जनशक्ति समेत प्रदेश सरकारसँग माग गरेको छ। अहिले आयोगमा कार्यालय सहयोगी बाहेक ६ जना मात्रै कर्मचारी छ।
आयोगका सदस्य गौतमका अनुसार लोकसेवाका लागि ५५ जनाको दरबन्दी माग भए पनि तत्कालका लागि २० कर्मचारी भए काम गर्न सकिन्छ ।
प्रतिक्रिया