राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम वा अर्थमन्त्री युवाराज खतिवडालाई पठाउने भन्ने दोधार अन्त्य भएको छ ।
ज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेपछि कसलाई पठाउने भन्ने दोधारको अन्त्य भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए ।
यसअघि गत फागुन १४ को सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने सर्वसम्मत निर्णय गरेपनि प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री खतिवडालाई पठाउन खोजेपछि अहिलेसम्म अन्यौल थियो ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिनका लागि उनलाई राष्ट्रिय सभामा पठाउन चाहेका थिए । ओलीले उनलाई शुरुमै राष्ट्रियसभामा लगेर अर्थमन्त्री बनाएका थिए।
उनको कार्यकाल ६ महिनाअघि नै सकिएको थियो। तर संवैधानिक प्रावधान अनुसार संसद सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बनाउन पाइने भन्ने छ। त्यसैलाई टेकेर खतिवडा थप ६ महिना मन्त्री भएका थिए। उनलाई अर्थसँगै सञ्चार मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो।
रिक्त रहेको पदमा गौतमले दावी गरेपछि खतिवडा कमजोर भएका थिए। खतिवडाको मन्त्री पद २० गते राति १२ बजेसम्म मात्र छ। त्यसपछि उनी स्वत मन्त्री पदबाट बाहिरिन्छन।
प्रतिक्रिया