पहिचान झल्कने पोशाकमा प्रतिनिधिसभा सदस्यले लिए  शपथ

७ बर्ष अगाडि

काठमाडौँ- संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्  । 
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराएका हुन्  । यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराएकी थिइन्  । 
शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए  । यस लगत्तै उनीहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी भए  । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा आएका  थिए  । 
नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् । संसदको पहिलो बैठकमा सहभागी हुनु अघि उनीरुले आज शपथ लिएका हुन्  । 
राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा भोलि फागुन २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गरेकी छन्  । निर्धारित कार्यक्रम बमोजिम फागुन २१ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको पहिलो बैठक एकै समयमा आ–आफ्ना सभाहलमा बस्दैछ । 
प्रतिनिधिसभामा नेकपा एमाले०का १२१, नेपाली काँग्रेसका ६३, नेकपा माओवादी केन्द्र ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया