होसियार, लुटिनु होला नि !

७ बर्ष अगाडि

काठमाडौँ- चाँडपर्व नजिकिँदै गर्दा तपाई किनमेलको हतारमा त हुनुहुन्न, हतार गरिरहनु भएको छ भने होसियार हुनुहोस् अपराध गर्नेहरू सक्रिय हुन थालेका छन् । विशेष गरी चाँडपर्वको समयमा किनमेलका लागि ‘नगद’ जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी, डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ । 
महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण ‘पिलर’ प्रमुख एवम् प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौँ उपत्यकामा अन्य समयको भन्दा चाँडपर्वका बेला बढी यस्ता अपराध हुने गरेको बताउनुहुन्छ । 
‘यतिबेला प्रायः सबैले पकेट र घरमा सरसामान खरिद गर्न नगद जम्मा गरेको हुन्छ, बैङ्कको लकरमा राखेको गरगहना समेत झिकेर प्रयोग गर्ने गर्छन्’ उहाँले भन्नुभयो–‘यही मौकामा अपराधीहरू योजनावद्ध ढङ्गले चोरी र लुटपाट गर्छन् ।’ 
चोरी, लुटपाट, डकैती र पकेटमारीका अपराध हुनुको मुख्य कमीकमजोरी स्वयम् पीडित ब्यक्तिभित्र नै हुने गरेको भनाइ प्रहरीको छ । घर कोठाको झ्यालढोका बन्द गर्नेदेखि यातायातको साधन प्रयोग गर्दा समेत ध्यान दिइएको हुँदैन ।
प्रमुख खड्का भन्नुहुन्छ,‘यस्तो बेला सबैमा हतार बढी हुन्छ, घर कोठा बन्द गरेर निस्कदा पनि छरछिमेकलाई खवर गर्ने, बाक्लो भीडभाड भएका बजारमा हिँड्दा नगद तथा गहनाको सुरक्षा र यातायातका साधन चढ्दा तथा ओर्लदा आफ्नो सामानको आफै सुरक्षा गर्ने जस्ता सामान्य सचेतना अपनाइँदैन ।’  गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया