नेपालकै जडीबुटी अनुसन्धानकर्ता आयुर्वेदाचार्यले कोरोना भाइरसको औषधी बनाएका छन् । विगत २९ वर्षदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका भैरहवाका आयूर्वेद आचार्य डा. बद्री गौतमले कोरोना भाइरस निको पार्ने आयूर्वेदिक औषधी तयार पारेका हुन् ।
नेपालमा पाईने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी अर्कबटी नामक आयूर्वेद आषैधीको गोली तयार पारिएको गौतमले बताए ।
२५ सय वर्ष पहिले ऋषि आत्रैयराज अत्रीले पत्ता लगाएको सुत्र अनुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडिबुटीलाई कोरोना विरुद्धको औषधी बन्ने सक्ने भन्दै त्यहि विधि अनुसार औषधी तयार पारिएको उनको भनाई छ । गौतमले व्यक्तिगत १५ लाख रुपैयाँ लगानी गरेर उक्त आयूर्वेद औषधी तयार पारेको बताएका छन् ।
उनले पहिल्यै औषधी तयार पारेको र सरकारी निकायलाई प्रयोग गर्न सुझाव दिएपनि सरकारले यो औषधीबारे कुनै चासो नलिएपछि भारतका केही स्थानमा कोरोना संक्रमितलाई वितरण गरेको उनले बताए ।
१ सय ५० कोरोना संक्रमितले यो औषधी सेवन गरेर निको भइसकेको उनले दावी गरेका छन् । ‘रुपन्देही र भारतका केही स्थानमा गरेर १ सय ५० जना कोरोना संक्रमितले औषधी सेवन गरेका छन्, सबैलाई निको बनाएको छ’ गौतमले भने ।
त्यहाँबाट निको भएको जानकारी आएपछि विस्तारै नेपालका सरकारी अस्पतालमा परीक्षणका लागि संक्रमितलाई दिन आग्रह गरेको उनले बताए ।
भिम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा समेत औषधी पठाइएको थियो । तर, मान्यता प्राप्त नभएकाले अस्पतालले औषधी बिरामीलाई दिएन । अहिले भने रुपन्देहीमा समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि एकाएक अर्कबटीको माग बढेको छ । यो औषधीको प्रयोग गरेमा कोरोनाबाट हुने मृत्यूदर घट्ने र अहिले जस्तो अतालिनुपर्ने अवस्था नै नआएको दाबी उनको छ ।
पछिल्लो दुई साता यता रुपन्देहीमा समुदाय तहमा व्यापक रुपमा कोरोना संक्रमण फैलिएपछि यो औषधीको माग अत्यधिक बढेको छ । भैरहवामा कोरोना संक्रमित एक जना महिलाले औषधी सेवन पश्चात श्वासप्रश्वासमा सुधार आएको बताईन ।
भैरहवा स्थित मेडिकल कलेजमा कार्यरत एक महिला कर्मचारीले आफ्ना ६५ वर्षीय श्रीमानले यो औषधी आएपछि धेरै सुधार भएको बताए ।
लामो समयदेखि जडिबुटीकै अध्ययनमा लागेका गौतमले यो औषधीको बारेमा आयूर्वेद विभाग र सरकारी निकायलाई जानकारी गराएपनि वेवास्ता गरिएको बताए ।
उनका अनुसार औषधी व्यवस्था विभागमा श्वासप्रश्वास, रुघा र पाचनसँग सम्बन्धित रोग निको पार्ने औषधीका रुपमा दर्ता गर्ने गरि प्रक्रिया अघि बढाइएको छ । उनले ५ प्रकारका जडीबुटी र धातु मिश्रित यो औषधी विभागमा आयूर्वेद औषधीको रुपमा दर्ता भएपछि बैधानिक रुपमा बजारमा ल्याउने बताए ।
स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने, ज्वरो, पखला र वान्ता हुने लक्षणका बिरामीले १० दिनसम्म दिनमा दुई पटक दुई वटा गोली खाए निको हुने दावी उनको छ । सामान्य लक्षण नदेखिएकाले भने दिनमा १ गोलीका दरले साँझ र विहान गरि दुई पटक सेवन गर्न सकिने मापदण्ड तय गरेको छ ।
भैरहवामा त्रयम्बकम् जडिबुटि सहकारी लिमिटेड स्थापना गरेका गौतमले जडीबुटीबाटै देशलाई समृद्ध बनाउनुपर्छ भन्ने अभियान्ता पनि हुन । २०६८ सालदेखि जडिबुटी सहकारी स्थापना गरेर विभिन्न प्रजातीका जडिबुटिको प्रवद्र्धन र संरक्षण तथा अनुसन्धान गर्दै आएको छ । यो सहकारीले जडिबुटि खेती समेत गर्दै आएको छ । नागरिकन्यूजबाट
प्रतिक्रिया