भारतले किन बोलाउँदैन उपराष्ट्रपतिलाई भ्रमण ?

७ बर्ष अगाडि

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले छ दिने चीनको औपचारिक भ्रमण पूरा गरेर असोज ८ काठमाडौं फर्के । २०७४ चैत ४ गते दोस्रो पटक उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो । पहिलो र दोस्रो कार्यकाल गरेर हेर्ने हो भने उपराष्ट्रपति पुनको यो तेस्रो चीन भ्रमण रहेको छ । 

अचम्म यो छ कि तीन पटक उत्तरी छिमेकी चीन भ्रमण गर्ने अवसर पाएका उपराष्ट्रपति पुनले दक्षिणी छिमेकी भारतबाट चाहिँ अहिलेसम्म भ्रमणको निम्ता पाएका छैनन् । कूटनीतिक मामलाका जानकारहरू उपराष्ट्रपति पुनलाई दक्षिणी छिमेकीबाट लामो समयसम्म औपचारिक भ्रमणका निम्ता नआउनुलाई अर्थपूर्ण मान्छन् । 

दक्षिणबाट निम्ता नआउनुको अर्थ के ? 
चीनका लागि नेपालका एक पूर्वराजदूतका अनुसार तीन कारणले उपराष्ट्रपतिलाई भारतले भ्रमणको निम्ता नदिएको बताउँछन् । ‘दक्षिण छिमेकी भारतले नबोलाउनुका पछाडि तीन कारण छन् । पहिलो कारण उपराष्ट्रपतिको चिनियासँग उठबस बढी छ । त्यो कारण पनि चीनले बोलाउनु स्वभाविक हो ।’ उनले भने ‘दोस्रो कारण उनी पूर्वजनमुक्ति सेनाको लिडर । प्रचण्ड फस्टम्यान भए पनि सेकेन्ड म्यान उनी भए । त्यो बेला दक्षिणले भित्र–भित्र सहयोग गरेका भए पनि देखाउन चाहन्न । उपराष्ट्रपति चीनसँग नजिक छन् भन्ने दक्षिणले पनि राम्ररी बुझेको छ । दक्षिणको अफिसियल बुझाइमा उनी जनसेना ।’

‘तेस्रो कारण भनेको हरेकले बोलाउँदा आफूलाई के फाइदा हुन्छ भनेर हेर्छन् । भारतले बढी लाभ हेर्ने गर्छ । उनलाई बोलाउँदा लाभ हुने देखेन । उनले भारतका लागि केही गर्न सक्दैनन् भन्ने बुझेको छ । त्यसैले बोलाएन ।’ उनले भने, ‘फेरि चीनले किन बोलाउँछ भने उनीसँग वैचारिक कुरा मिल्छ । त्यस्तै अर्को महत्वपूर्ण कुरा के हो भने उपराष्ट्रपतिले चीनको लागि पार्टी र सरकारभित्र चीनको पक्षमा कुरा राख्छन् । यसले चीनलाई फाइदा हुने भो । उपराष्ट्रपति भारतका लागि ओपन लबी गर्दैनन् । त्यही भएर भारतले बोलाउँदैन ।’  

यता, भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय भने नेपालबाट नै कुटनीतिक पहल नभएको कारण उपराष्ट्रपतिको भारत भ्रमण हुन नसकेको बताउँछन् । ‘दुवैतर्फबाट कुटनीतिक पहलको साथै चाहना भयो भने उपराष्ट्रपतिको भारत भ्रमण सम्भव हुनसक्छ,’ उनले भने ।

७ बर्ष अगाडि

प्रतिक्रिया