काठमाडौं । अर्थमन्त्रीको रुपमा डा युवराज खतिवडालाई जिम्मेवारी दिएपछि नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जिवी नेपालले के गर्लान् भन्ने चासो र चिन्ता एक पछि अर्को गर्दै आर्थिक बजारमा व्याप्त भएको छ ।
राजनीतिक रुपमा भन्दा डा नेपाल नेपाली काँग्रेसका खास कार्यकर्ता हुन् । उनले नेपालको केन्द्रीय बैकलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको गुनासो पनि व्याप्त रहेको छ । उनलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री डा रामशरण महतले पाँच वर्षका लागि गर्भनरमा नियुक्त गरेका थिए ।
राष्ट्र बैंककै पूर्वगर्भनर समेत रहेका डा खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरिसकेपछि सबैभन्दा बढी शक कोही भएका थिए भने उनै डा नेपाल भएका थिए । कारण थियो अब केन्द्रीय बैंकको प्रमुखबाट आफूले हात धोएर निस्कनु पर्दछ । कारण अरु थिएन , थियो त केवल राजनीति ।
वाम गठबन्धनले निर्वाचनमा करिब दुई तिहाई मत प्राप्त गरेको छ । आर्थिक समृद्धिको कार्ययोजना अगाडि बढाउन डा नेपाल राष्ट्र बैंकका रहीरहनु केपी ओली नेतृत्वको सरकार र स्वयम् अर्थमन्त्री डा खतिवडालाई पनि सहज हुने देखिदैन । बैंक तथा वित्तीय क्षेत्रलाई प्रभावकारी रुपमा नचलाएको र उपयुक्त निर्देशन तथा सहजीकरण नगरेको भन्ने आरोप पनि डा नेपालमाथि लागेकै छ ।
राष्ट्र बैंक स्वायत्त संस्था हो, कसरी हट्लान डा नेपाल ?
कानुनअनुसार नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । त्यसमा अर्थमन्त्रालयको हस्तक्षेप चल्न सक्दैन भन्ने मान्यता पनि रहेको छ । विगतमा राष्ट्र बैंकका गर्भनर हटाउन खोज्दा अदाललते उल्ट्याइदिएको अवस्था छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले बैंकलाई स्वायत्त संस्थाको रुपमा स्थापित गरेको छ । गर्भनर नियुक्त सरकारले नियुक्त गर्ने भएपनि हटाउनका लागि भने केही प्रावधान रहेका छन् ।
कस्तो अवस्थामा हट्छन् गर्भनर
स्वयम् गर्भनरले राजीनामा दिएमा, आर्थिक अपराध गरेमा वा शारीरिक तथा मानसिक रुपमा समस्यामा परेको खण्डमा मात्रै गर्भनर हट्न सक्छन् । हालको अवस्थामा डा नेपालको त्यस्तो कुनै पनि अवस्था रहेको छैन । जस कारण डा नेपाल ढुक्क छन् । आफूलाई हटाउन सक्ने सरकारकासँग कुनै पनि कानुनी आधार छैन भन्नेमा । तर आर्थिक समृद्धिको कार्ययोजना पूरा गर्न डा नेपालले डा खतिवडालाई सहयोग गर्न सक्छन् भन्नेमा वाम सरकार ढुक्क छैन ।
विगतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नै नियुक्त गरेका डा तिलक रावललाई हटाएर दिपेन्द्र पुरुष ढकाललाई गर्भनर बनाउँदा अदालतले उल्ट्र्यादिएको छ । आफूसँग काम गर्ने शैली नमिलेको भन्दै देउवाले डा रावललाई वर्खात गरे र ढकाललाई गर्भरन बनाएर । डा रावल अदालत गए र पुनः स्थापित भएर आए ।
यस्तै अर्को उदाहरण पनि रहेको छ । विजयनाथ भट्टराईले आर्थिक अपचलन गरेको र भ्रष्टाचार गरेको भन्दै निलम्बनमा परे । गर्भनरका रुपमा दिपेन्द्रबहादुर क्षेत्री नियुक्त भए । सर्वोच्च अदालतले भट्टराईमाथि लागेको आरोप निराधर भएको पुस्टि गरेपछि क्षेत्रीले छदा खाँदाको गर्भनर पदबाट हात धुनुपर्यो ।
यी तथ्य र नजिर टेकेर डा नेपाल अझै पनि राष्ट्र बैंकमा गर्भरन नै भइरहने दाउमा रहेको बताइन्छ । तर डा नेपाल भने डा खतिवडाले होइन, प्रधानमन्त्री ओलीले बोलाएर राजीनामा दिन भने आफूले सोच विचार गर्ने भन्दै बसेका छन् । डा नेपाल २०७१ साल चैत ५ गते राष्ट्र बैंकको गर्भनरमा नियुक्त भएका हुन् ।
अर्थमन्त्रीको स्वागतमा गएनन् डा नेपाल
यही फागुन १४ गते सरकार विस्तार भयो केपी ओली नेतृत्वको । सरकारको अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा आए । राष्ट्र बैंक स्वायत्त निकाय भएपनि बैंकका डेपुटी गर्भनर र उच्च अधिकारी अर्थमन्त्रीको स्वागतमा अर्थमन्त्रालय पुगे । तर गर्भनर डा नेपाल स्वागतमा समेत गएनन् । गर्भनर किन आएनन् भनेर सोधी खोजी पनि भयो । तर उनले आफूलाई सन्चो नभएको भन्दै घरबाट बाहिर निस्केनन् । डा नेपालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवस्था गरेका काम कारवाहीको उचित समन्वय गर्न नसकेको आरोप लागिरहेको छ ।
अब के होला ?
गर्भनरबाट डा नेपालले राजीनामा दिएको खण्डमा मार्ग प्रशस्त हुने र नयाँ गर्भनर नियुक्तीका लागि बाटो खुल्ने छ । उनले राजीनामा दिएनन् भने अर्थ मन्त्रालय र राष्ट्र बैंकका गर्भनरबीच राम्रै टसल पर्ने देखिएको छ । राजीनामा दिने वा नदिने भन्नेमा पनि कुनै निष्कर्षमा नपुगेका डा नेपाल र अर्थमन्त्री डा खतिवडाबीच यसबीचमा एक पटक पनि भेटवार्ता भएको छैन । स्वागतमा नगएको तथा राजनीतिक रुपमा समेत फरक विचार र चिन्तन भएका कारण पनि डा नेपाल र डा खतिवडाबीच सहज सम्बन्ध नहुने देखिएको छ । गर्भनर नेपालले राजीनामा दिएको खण्डमा भने गर्भनर बन्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत समेत रहेका महाप्रसाद अधिकारी, बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी , डा गोविन्दबहादुर थापालगायतले इच्छा व्यक्त गरेको बताइन्छ ।
प्रतिक्रिया