युट्युवमा भिडियो हेरेर किसानलाई सिधै प्रधानमन्त्रीको फोन

५ बर्ष अगाडि

जुन देशमा बहालवाला मन्त्री, पूर्वमन्त्री, नेता, साँसददेखि स्थानीय तहका जनप्रतिनिधि सम्मले जनताका काम पर्दा फोन नउठाएर हैरान भएको गुनासो आइरहन्छ त्यही देशमा कार्यकारी प्रमुखले एउटा किसानलाई सिधै फोन गरेभन्दा झट्ट पत्यार लाग्दैन । 

तर पत्याउनुस्, नपत्याउनुस् प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना किसानलाई सिधै फोन गरेर हौसला प्रदान गरेका छन् । युट्युवमा भिडीयो हेरेपछि प्रधानमन्त्री ओलीले गुल्मीको रेसुङ्गा नगरपालिका २ का दिलीप भण्डारीलाई फोन गरेर हौसला प्रदान गर्दै सहयोग गर्ने बचन दिएका छन् ।  

भण्डारीले बोधिचित्त, श्रीखण्ड, अगरउड, रुद्राक्ष लगायतका महंगा काठको खेती गरेको भिडियो नेपाल अपडेट नामक युट्युव च्यानलमा प्रशारण भएको थियो । 

सोही भिडियो हेरेका प्रधानमन्त्री ओलीले शुरुमा युट्युव च्यानल सञ्चालक मोहन बस्नेतलाई धन्यवाद दिएका छन् । उनीसँगको फोनमा प्रधानमन्त्री ओलीले आफूले यस्तो कुराहरुमा रुचि राख्ने भन्दै त्यस्ता किसानलाई प्रोत्साहन गर्ने बताएका छन् । ‘म यस्तो कुराहरु, इनोभेटिभ कुराहरुमा, देश विकासको कुरामा रुची राख्छु, म आफैपनि यस्तो कुरामा लागिरहेको छु,, फोनमा प्रधानमन्त्रीले बस्नेतसँग भनेका भनेका छन्, ‘बेरोजगार भएँ भनेर विदेश जाने कुरा नै वास्तविकता होइन । हामीले नयाँ कन्सेप्ट ल्याएका छाैं, भूमि बैंककको । भूमि नहुने र भुमिमा यस्तो खालको किम्मती विरुवा लगाएर हाम्रो देशलाई १० वर्षभित्र समृद्ध बनाउन सक्छौँ । त्यसकारण मैले समृद्ध नेपाल सुखी नेपाली भनेको हो ।’ 

उनले बस्नेतसँग फोन नम्बर मागेर ति किसानलाई फोन गरेका छन् । भण्डारीले रेकर्ड गरेको कुराकानीको अडियोमा शुरुमा प्रधानमन्त्रीले नेपाली सेनाको जागिर छोडेर यो काममा कसरी गरेको भनेर सोधेखोज र प्रचारप्रसार गराउने जानकारी गराएका छन् । ‘मले तपाइँको कामहरुको प्रचारप्रसार बढी गराउने भन्ने पनि सोँचेको छु’, प्रधानमन्त्रीले भनेका छन् । 

त्यसपछि भण्डारीले को बोलेको भनेर सोधेका छन  र जवाफामा ओलीले म प्रधानमन्त्री बोलेको भनेपछि भण्डारी खुसी भएका छन् । 

फोनमा भण्डारीले खुसी व्यक्त गर्दै आफूले गरेको खेतीको बारेमा बताउनुका साथै आर्थिक अभाव भएको पनि बताएका छन् । साथै प्रधानमन्त्रीलाई भेट्ने चाहना पनि राखेका छन् । ‘म बोलाउनेवाला छु तपाइँलाई, बरु बिरुवाहरु पनि ल्याइदिनुहोला । अनि तपाइँलाई के सहयोग गर्न सकिन्छ म व्यक्तिगत तबरमा पनि ध्यान दिन्छु नि अलि ’, प्रधानमन्त्रीले भनेका छन् । 

को हुन भण्डारी, कसरी शुरु गरे यो खेती
विगत चारवर्षदेखि बहुमूल्य काठको खेती शुरु गरेका उनी नेपाली सेनाको जागिर छोडेका व्यक्ति हुन् । आर्मीको तालिम गर्ने बेलामा सँधै गाली खानुपर्ने, आफ्नो सोँचअनुसार चल्न नपाइने भएपछि आफूले यो खेती शुरु गरेको उनको भनाई छ । 

‘नेपाल आर्मीको कमाण्डो पनि हो, ३ वष गरेर २०६३ मा छाडेँ, अनि विश्वका महंगा बुटोहरु के के हुन् चाँडै अरबपति हुने कसरी भनेर खोज्दा बहुमुल्य बनस्पतीको खेती गर्ने कुरा भेटाएँँ’, उनले भनेका छन्, ‘शुरुमा म भिजिटको लागि कतारमा अध्ययन गरेँ । दुवइ कतार बहराइन, ओमान र सिंगापुरमा अध्ययन गरेपछि यहाँ आएर लगाएको हुँ ।’ अन्यत्र नपाएको चिजहरु नेपालमा पाइयोस भनेर काम गर्नुपहिला कतारमा पुगेर मार्केट बुझेर शुरु गरेको उनको भनाइ छ । 

विदेशमा बुझेर आइसकेपछि आफूले घडेरी बेचेर समूहलाई मिटिङ्गि गराउँदै सबैलाई रुद्राक्षका बिरुवा निःशल्क रुपमा बाँड्दै हिँडेको बताउँछन् । ‘तर गाउँकोले घर घडेरी बेचेर बुटा बाँड्दै हिँडेको छ भने, म घरमा बस्न नसकेर एक्लै स्ट्रगल गरेँ, घडेरी बेच्दा घरको सक्यो सबै भने’, शुरुको दुःख व्यक्त गदै उनी भन्छन् । 

शुरुमा भारतबाट बिरुवा ल्याउँदा १२ देखि १६ हजारसम प्रतिकेजी तिरेर ल्याएका उनले १६ महिनापछि मात्र राम्रो बीउ पत्ता लगाएको बताउँछन् । ‘सुरुमा भारतको आसामाबाट र पछि कम्बोडियाबाट विरुवा ल्याएँ’, उनले भने । 

स्याङ्गजा, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन, रसुवा र पाल्पामा ३ सय १२ हेक्टर जग्गामा ६ हजार रोपनी भन्दा धेरैमा विरुवा रोपेको बताउँछन् । ‘मैले अहिलेसम्म साढ १७ हजार अगरउड, १८ सय बोधिचित्त, ६० हजार श्रीखण्ड, एभोकाडो  गरी नेपालभरी मेरो १ लाख भन्दा धेरै बोट लगाएको छु’, उनले भने । 

उनले लगाएको श्रीखण्ड तीनवर्षमै फुल्न शुरु गरेको छ । संसारको सबैभन्दा महंगो रुख, अगरउड पनि लगाएको बताउने उनले भारतीय प्रजातीको ५ हजार डलरदेखि र  कम्बोडियन प्रजातीको ३५ हजार डलर प्रतिकेजी पर्ने बताए । ‘तर सबै रुखमा अगर लाग्दैन, १०० रुख लगायो भने एउटामा हुनसक्छ’, उनले भने । 

यो वर्षदेखि बोधिचित्त फल्न शुरु गरको छ भने श्रीखण्ड फुलेको छ । बोधिचित्त बिक्री हुने भएपनि अहिले कोरोना भाइरस संक्रमणका कारण ब्यापारीहरु नआएको कारण बिक्री गर्न नसकिएको बताएका छन्। 
अहिलेसम्म बिरुवामा ८÷९ वटा घडेरी बेचेर ९३ लाख लगानी गरेको बताउने उनले अब उत्पादन शुरु भएपछि वर्षमा एक अरबको बिक्री गर्ने लक्ष्य रहेको उनको भनाई छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया